विवाहको प्रलोभन देखाई बलात्कार गर्ने प्रहरी जवानविरुद्ध जाहेरी

0
558

बिर्तामोड

विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने नेपाल प्रहरीका एक कर्मचारीविरुद्ध पीडित युवतीले किटानी जाहेरी दिएकी छन् । मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १५ घर भई कोशी प्रदेश प्रहरी गण बिराटनगरमा कार्यरत प्रहरी जवान चन्दन कुमार शाह (२४) विरुद्ध झापाको इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दर्ता गरिएको हो ।

पीडित अनारमनी–३६ (नाम परिवर्तन)की २० वर्षीया युवती हुन् । घटना भएका बेला उनी १९ वर्षकी मात्र पुगेकी थिइन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ बमोजिम बलात्कार अभियोगमा शाहलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराइन् ।

फेसबुके चिनजानले ‘बलत्कार’

पीडित र आरोपीबीच २०८१ जेठदेखि फेसबुकमा चिनजान भएको थियो । कुराकानी हुँदै जाँदा चन्दनले युवतीलाई विवाह गर्ने आश्वासन दिएका थिए । सामाजिक सञ्जालबाटै बिहे गर्ने वाचा गरेपछि उनीहरूबीच भेटघाटसमेत हुन थाल्यो ।

पीडितका अनुसार २०८१ भदौ ७ गते आरोपीले युवतीलाई झापाको सुरुङ्गामा भेट्न बोलाए। भेटका क्रममा रात परिसकेको भन्दै उनले पीडितलाई होटलमै बस्न दवाव दिए । युवतीले घर जानुपर्ने बताउँदा पनि ‘तिमीलाई म एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै उनलाई होटलमा राख्ने प्रयास गरे ।

त्यसपछि आरोपीले होटल क्विन प्यालेस (कन्काई–३) मा कोठा बुक गरे। युवतीले कोठा लिनु अघि नै अनैतिक कार्य नगर्ने शर्त राखेकी थिइन्। तर, कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

मानसिक पीडा र आत्महत्याको प्रयास

‘घटना पछि म धेरै रोए । बलात्कृत भएको केही दिन सम्म आरोपीले विवाह गर्ने आश्वासन दिइरहेका थिए । केही दिनसम्म सम्पर्कमा नै थिए । उनले मलाई अन्तिम पटकको संबादमा म तिमीलाई विवाह गर्दिन । तिमी तिम्रै बाटो लाग म मेरै बाटो लाग्छु’ भने । ‘त्यसपछि मोबाइल, ह्वाट्सएप, म्यासेन्जर सबै माध्यमबाट ब्लक गरेपछि म थप मानसिक तनावमा परे ।’

शारीरिक सम्पर्कपछि आरोपीले विवाह गर्न अस्वीकार गर्दै ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भनेपछि पीडित तनावमा परिन् । परिवार वा आफन्तलाई केही नभनी मानसिक पीडा झेल्दै गर्दा उनले आत्महत्याको प्रयासस्वरूप विष सेवन गरिन् ।

परिवारले थाहा पाएर उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल हुँदै विराटनगर नोबेल अस्पताल पु¥याएका थिए । दुई महिनासम्मको सघन उपचारपछि उनी बाँच्न सफल भइन् ।

न्यायका लागि पत्रकार र अधिकारकर्मीको सहयोग

न्यायका लागि उनी पत्रकार विनोद सापकोटा मार्फत कानुनी परामर्शमा जोडिइन्। कानुन व्यवसायी अर्जुन बस्नेतसहितको टिमको सहयोगमा जाहेरी दर्ता प्रक्रिया अघि बढाइयो ।

पीडित न्यायका लागि पटक–पटक प्रहरी कार्यालय धाइरहेकी थिइन् । समाजका विभिन्न क्षेत्रका अगुवा, महिला अधिकारकर्मी कल्पना चौलागाईं, नेकपा माओवादी केन्द्रका नेता डिल्ली घिमिरे (हिक्मत) र खेलकुद महासंघका भिम लिवाङ लगायतको दवावपछि प्रहरीले जाहेरी लिन बाध्य भयो ।

अनुसन्धान र कानुनी प्रक्रिया शुरु

पीडितको स्वास्थ्य परीक्षण भद्रपुरस्थित प्रादेशिक अस्पतालमा गराइएको छ। स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएकै दिन सुरुङाको घटनास्थल होटल ‘क्विन प्यालेस’को पनि सनाखत गरिएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

नेपालको फौजदारी संहिता, २०७४ अनुसार, १९ वर्षकी युवतीमाथि जबरजस्ती करणी (बलात्कार) गर्ने अपराधलाई गम्भीर रूपमा लिने गरिएको छ । पीडक दोषी प्रमाणित भएमा कडा सजायको व्यवस्था छ ।

दफा २१९ अनुसार, १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि बलात्कार गरेमा दोषीलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनेछ । यदि बलात्कारपछि पीडितलाई गम्भीर शारीरिक वा मानसिक क्षति पुगेको छ भने सजाय थप कडा हुन सक्ने कानुन व्यवसायी अर्जुन बस्नेतले बताए ।

पीडक चन्दन कुमार शाह जो कोशी प्रदेशको प्रहरी गणमा कार्यरत प्रहरी जवान हुन् । उनी माथि लागेको आरोप गम्भीर विश्वासघातको रूपमा लिइन्छ । किन भने उनले आफ्नो पदको दुरुपयोग गरी अपराध गरेको देखिन्छ ।

यदि अदालतमा दोषी ठहर भएमा फौजदारी संहिताको दफा २२१ अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले गरेको अपराधमा थप सजायको व्यवस्था हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here