शिवसताक्षी,
नेकपा एमाले शिवशताक्षी नगर कमिटीको छैटौं पूर्ण बैठक आइतबार शिवगञ्जस्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ ।नगर अध्यक्ष मेदनी दंगालको अध्यक्षतामा सम्पन्न बैठकले नगर सचिवालयलाई पूर्णता दिएको छ । अब नगरको २३ सदस्यीय सचिवालय हुने छ ।
आइतबार चयन भएका सचिवालय सदस्यमा वडा नम्बर ४ का सन्तोष पौडेल, वडा नम्बर ११ का ढाका प्रसाद अधिकारी, वडा नम्बर १ का तेजेन्द्र घिमिरे, वडा नम्बर ८ का सन्त आङदम्बे र वडा नम्बर ४ का विरेन्द्र तामाङ चयन भएको पार्टीको संचार तथा प्रकाशन विभाग प्रमुख कल्पना चौलागाईँले जानकारी दिइन् ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोम ओलीले प्रमुख अतिथिको आसनबाट भने, ‘हामीले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ । एमाले जनताको पार्टी हो । जनतासँगको निरन्तर सम्पर्क नै हाम्रो ठुलो शक्ति हो ।’
बैठकमा वडास्तरका संगठनहरूलाई बलियो बनाउने विषयमा छलफल गरिएको थियो । ओलीले संगठन सुदृढीकरणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “संगठन बलियो भए मात्र पार्टी बलियो हुन्छ । त्यसैले अहिले हाम्रो ध्यान संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुनुपर्छ ।’
त्यस्तै, पार्टीका झापा जिल्ला सल्लाहकार समितिका संयोजक राधाकृष्ण खनालले पार्टी अनुशासन र एकताको महत्त्व उल्लेख गर्दै भने, ‘संगठन बलियो बनाउन हामी सबैले अनुशासन पालना गर्नुपर्छ । पार्टीभित्र एकता मजबुत भए मात्र बाहिर हाम्रो प्रभाव पर्ने उनले बताए । उनले काठमाण्डौमा राजाबादीले गरेको आन्दोलनको विरोध गरे । उनले भने,‘ राजा फर्काउने आन्दोलन माई खोलाको पानी फेरि शिर तिर फर्काउनु जस्तै हो भने ।
बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज चन्द्रकुमार शेर्माले पार्टीभित्रका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउन संगठित सदस्यहरूलाई आग्रह गरे। उनले संगठन सुदृढीकरण र एकताका लागि सबै तहका कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताए। “पार्टीलाई मजबुत बनाउनका लागि हाम्रा प्रत्येक संगठित सदस्यले राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्छ। पार्टी बलियो हुनका लागि नेतृत्व मात्र होइन, प्रत्येक कार्यकर्ता क्रियाशील हुन जरुरी छ,” उनले भने।
शेर्माले आगामी दिनमा पार्टीको एजेन्डा स्पष्ट रूपमा जनतामा लैजानुपर्नेमा जोड दिँदै भने, “हामी संगठन सुदृढीकरण र विस्तारको चरणमा छौं। अबको अभियान हाम्रो नीति, योजना, र विचारलाई जनतामाझ प्रभावकारी ढंगले पुर्याउने हुनुपर्छ।”
बैठकमा नगरका ११ वटै वडाका अध्यक्षहरूले जरा केन्द्रित अभियानको रिपोटिङ गरेका थिए । बैठकले आगामी चैत्र मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । चैत्र २० गते नगरका ११ वटै वडामा बैठक राख्ने र ती बैठकहरूमा संगठन सुदृढीकरण, विस्तार र नेताबीचको एकता प्राथमिक एजेन्डा हुने बताइएको छ ।
बैठकले आगामी चैत्र २९ को मोटर साइकल र्याली र ३० गते झापाको दमकमा आयोजना हुने नेकपा एमालेको प्रादेशिक जनसभामा सहभागी जुटाउन प्रचार–प्रसारलाई तीव्र बनाउने पनि निर्णय गरेको छ।
पार्टीकी महिला उपसचिव कल्पना चौलागाईंले स्वागत गरेको कार्यक्रमको संचालन सचिव लक्ष्मी गुरागाईंले गरेका थिए । छैटौ पुर्ण बैठकमा नगरका नेता कार्यकताको सहभागिता थियो ।