राजतन्त्र पक्षधरहरुको प्रदर्शनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकका हत्याराको पहचिान तथा कारवाहीको माग गर्दै देशभरका पत्रकारहरु आन्दोलित छन् । नेपाल पत्रकार महासंघको घोषणा अनुसार आइतबारदेखि विरोधका विविध कार्यक्रम हुँदैछन् । त्यसक्रममा महासंघका सबै शाखा मार्फत आइतबार देशभर प्रदर्शन तथा विरोधसभा भएका थिए । झापाको बिर्तामोडमा महासंघ झापाको आयोजनामा भएको प्रदर्शनका क्रममा पत्रकार हत्याको भत्र्सना गर्दै विरोधसभा सम्पन्न भयो । मानवअधिकारकर्मी राजनीतिकर्मी तथा शुभेच्छुक लगायतको सहभागिताको प्रदर्शन नगरपरिक्रमापछि सभामा परिणत भएको थियो ।
सञ्चार जगतलाई राज्यको चौथो अङ्गका रुपमा लिइएको छ । आमजनतालाई सूचना प्रवाह गरेर सूचनाको हकको प्रत्याभूतिमा सहयोग गर्ने तिनै पत्रकारहरुले देशमा भएका विविध आन्दोलनहरुमा ज्यान गुमाउनु परेको छ । सूचना प्रवाह गरेकै कारण अनेक प्रकारका यातनाहरु खप्नु परेको छ । भन्नलाई चौथो अङ्ग भनिने तर राज्यबाट सधैँ उपेक्षित पत्रकारहरु आज पनि सञ्चारसंस्थाबाट ठगिएका छन् । अनि पनि पत्रकारहरु आफूले रोजेको पेशाप्रति इमान्दार र कर्तव्यनिष्ठ नै रहेका छन् केही अपवाद बाहेक । तीनकुने घटनामा मारिएका पत्रकार सुरेश राजसंस्था पक्षधरको आन्दोलनको समाचार संकलन गर्न गएका थिए । एभिन्युज टेलिभिजनका पत्रकार सुरेशको भिडियो खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा भेटिएका थिए ।
नेपाल पत्रकार संघको स्थापना भएको दिन चैत १६ गतेलाई महासंघले प्रत्येक वर्ष स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । त्यसै अनुसार महसांघले शनिबार स्थापना दिवस मनाउने कार्यक्रम थियो, तर पत्रकार सुरेशको हत्या भएका कारण देशभर बिरोधका कार्यक्रम सम्पन्न गरिए । विरोधसभाका वक्ताहरुले पत्रकार हत्याको बिरोध गर्दै हत्याको निष्पक्ष छानविन, दोषीको पहिचान गर्दै दोषीलाई कारवाहीको माग गरेका थिए । यही समय राजनीतिक दलहरुले आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने परम्परा जस्तै बनेको छ । जब–जब बिषम् परिस्थिति सृजना हुन्छ तब–तब पत्रकारहरुले जोखिम मोलेर समाचार संकलन गर्नुपर्ने हुन्छ । त्यस्तोमा अवाञ्छित गतिविधिको शिकार पनि तिनै पत्रकारले हुनुपर्छ । संविधान प्रदत्त अधिकार प्रयोग गर्ने दल, समूह वा व्यक्ति असंयमित हुँदा होस् वा राज्यपक्ष अनुत्तरदायी हुँदा तोडफोड, आगजनी र हिंसाका घटना हुने गरेका छन् । सुरेशको हत्या, सञ्चार गृहमाथिको तोडफोड त्यसकै पछिल्लो उदाहरण बनिएको छ । यस्तो नृशंस हत्या अमानवीय र खेदपूर्ण घटना हो, जसले एउटा परिवार मात्र होइन सम्पूर्ण सञ्चारजगतलाई मर्माहत र स्तब्ध बनाएको छ । पत्रकार सुरेशका परिवारलाई राज्यले सम्मान र संरक्षण देओस् र मृत्युपर्यन्त पनि उनले न्याय पाउन् । फेरि यस्तो दुर्भाग्यपूर्ण अवस्था पीडा अरु कसैले व्यहोर्न नपरोस् ।