ताप्लेजुङ ।
ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीनपटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो ।
पाथीभरा माताप्रति आस्था राख्ने तीर्थयात्रीले चढाएको उक्त सुन चाँदी लिलामीका लागि पाथीभरा क्षेत्र विकास समितिले गोरखापत्र दैनिक पत्रिकामा सर्वप्रथम गतवर्षको फागुन २० गते २१ दिने सूचना जारी गरेको थियो । पहिलोपटक जारी गरिएको सूचनामा कसैको आवेदन नपरेकाले पुनः दुईपटक सूचना निकालिएको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिए ।
मन्दिरमा तीर्थयात्रीले सुनचाँदी, भेटी, घण्टी, त्रिशूल लगायतको सामग्री चढाउने गरेका छन् । जसको व्यवस्थापन तथा संरक्षण, क्षेत्र विकास समितिले गरिरहेको छ । समितिले भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ । सङ्कलित सुन तथा चाँदीलाई समेत बिक्री गरी पाथीभराको विकासमा लगानी गर्ने उद्देश्यका साथ तीनपटक सूचना जारी गरिए पनि कोही व्यवसायीले खरिदका लागि आवेदन नदिएको कार्यालयले जनाएको छ ।
हालको बजार भाउ अनुसार समितिसँग करिब चार करोडभन्दा बढीको सुन तथा चाँदी रहेको छ । सोही रकम बराबरको एकैपटक आवेदन पेश गर्नुपर्ने प्रावधान रहेको तर व्यवसायीसँग त्यस अनुसारको क्षमता नभएकाले आवेदन दिन नसकिएको पाथीभरा सुनचाँदी कला व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष गङ्गाराम शंकरले बताए । व्यवसायीले चाहे अनुरूपको र क्षमता अनुसार खरिद गर्न पाउने गरी प्रबन्ध गरिदिन समितिसँग आग्रह गरे पनि त्यो सम्भव नभएको व्यवसायी बताउँछन् । हाल बजारको माग पूर्तिका लागि जिल्ला बाहिरबाट नै सुनचाँदी खरिद गरि व्यवसायीले उपभोक्तालाई सेवा प्रदान गरिरहेको संघले जनाएको छ ।
आवेदन नै नपरेपछि समितिले थप प्रक्रिया अगाडि बढाउने योजनामा रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । त्यस समितिको सल्लाह र सुझावका आधारमा थप प्रक्रिया अघि बढाइने हाङबाङको भनाइ छ ।
भक्तजनहरूले कम तथा उच्च गुणस्तरका सुनहरू चढाउने गरेका छन् । सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रिया अघि बढाएको थियो । यता नेपाली बजारमा भने सुनको मूल्य नयाँ रेकर्डको यात्रमा रहेको छ । मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुनको मूल्य तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।