यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट दुई महिला सहित नौ जना विचौलिया पक्राउ (नामावलीसहित)

0
149

झापा,

झापा।

यातायात व्यवस्था कार्यालय बिर्तामोडबाट प्रहरीले दुई महिला सहित नौ जनालाई पक्राउ गरेको छ ।

लामो समयदेखि बिचौलियाको काम गर्दै आएका दुई महिलासहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

सेवाग्राहीलाई दुःख दिएको आरोपमा प्रहरीले बिर्तामोड १ निवासी २४ वर्षीया गरिमा घिमिरे, बिर्तामोड १ निवासी ५२ वर्षीया सीता भेटवाल सहित अन्य सात जना पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड १ निवासी २७ वर्षीय सुरज आचार्य, बिर्तामोड १ निवासी ४२ वर्षीय तुलसी खतिवडा, कनकाई १ निवासी २० वर्षीय दिवस राई, बिर्तामोड ५ निवासी ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड १ निवासी २९ वर्षीय रोशन आचार्य, बिर्तामोड ३ निवासी २६ का युवराज लिम्बू र बिर्तामोड २ निवासी २४ वर्षीय टंकप्रसाद राजवंशी रहेका छन् । उनीहरुलाई अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

नागरिकको जनगुनासो बढेसंगै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
नागरिकको गुनासो वढेसंगै यघि जिल्ला प्रशासन कार्यालय झापाको टोलीले समेत यातायात व्यवस्था कार्यालयमा अनुगमन गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिइएको थियो ।

यातायातका कर्मचारीको संलग्नतामा बिचौलियाहरूले कार्यालयको छाप र अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी सेवाग्राहीहरूको लाखौँ रकम ठगेको घटना प्रहरीले बिचौलियालाई पक्राउ गरेको हो

घटना विवरण अनुसार लामो समयदेखि यातायात कार्यालयमा लेखापढीको काम गर्दै आएका कनकाई नगरपालिका निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौँ रकम लिएर फरार भएका छन्।

भण्डारीले मोटरसाइकल, स्कुटर, ट्याक्टर लगायतका गाडीहरूको ब्लुबुकको कर तिर्ने भनी सेवाग्राहीहरूबाट उठाएको रकम यातायात कार्यालयको राजश्वमा दाखिला नगरी कागजात मिलाएर नवीकरण गरिदिने गरेको घटना पीडित सेवाग्राहीहरूबाट बाहिर आएको छ।

भण्डारीले कसैलाई फर्जी बिल र कागजात उपलब्ध गराएको र कयौँको मोटरसाइकलसमेत बिक्री वितरण भए पश्चात् नामसारी नगरेको पाइएको साथै ब्लुलुबुकमा आफैंले मिति, सही र छाप राखी ठगीमा परेको स्वयम् सेवाग्राहीहरू बताउँछन्।

पीडित परमानन्द राजवंशीले भने, ‘चैत लागेर गाडीको कर तिर्न यातायात पुग्दा सिस्टममा कर तिर्न बाँकी रहेको देखाएपछि आफू ठगिएको थाहा पाए।’ बिचौलिया भण्डारीबाट ठगिएका पीडितहरू परमानन्द राजवंशी, प्रेमप्रसाद अधिकारी, अमरबहादुर चौहान, निश्चल ओली, नितिन अग्रवाल, कृष्णप्रसाद कडेरिया, रमण अधिकारी, बद्री चौधरी, युवराज अधिकारी, यसनाथ अधिकारी लगायतले घटनाका बारेमा यातायात कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र समेत बुझाइसकेका छन्।

बिचौलियाले सेवाग्राही ठगी गरेको घटना आउँदासमेत यातायात कार्यालयले यसतर्फ चासो नदेखाएपछि प्रहरीहरू सादा पोसाकमा आफैं सेवाग्राही बनेर यातायात कार्यालय पुगेका थिए।
प्रहरीले ब्लुलुबुक, लाइसेन्स नवीकरण गरिदिए बापत अतिरिक्त शुल्क माग्ने, कार्यालयका कोठाहरू सोझै प्रवेश गर्नेहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here