वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै

0
22

बनियानी ।

कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थ्यो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले उक्त संख्या १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज बन्दै गएको छ ।

कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप घटेरन्याय सम्पादन सहज बनेको हो । वडाका मेलमिलापकर्तालाई तालिम दिएर अब्बल बनाएका छौँ– नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले भनिन्– यसले वडामै विवाद मिल्न थालेको छ, नगरसम्म आउनुपर्ने बाध्यता हटेको छ । न्याय माग्न आउने नगरवासीलाई आर्थिक बोझ घटेको उनले सुनाइन् ।

९ नम्बर वडाबाट टेम्पोमा आउँदा रु. दुई सय जाँदा रु. दुई सय लाग्छ– उपप्रमुख शिवाकोटीले भनिन्– वडामै विवाद मिल्दा आर्थिक अवस्था कमजोर भएका वडावासीलाई सहज भएको छ । चालूआर्थिक वर्ष २०८१÷०८२को हालसम्म १२ वटा नयाँ मुद्दा नगरको न्यायिक समितिमा दर्ता भएका छन् भने आव २०८०÷०८१को पाँच वटा मुद्दा सरी आएका थिए । नयाँ पुराना गरी १४ मुद्दा फछ्र्यौट भएको उनले बताइन् ।

नगरमा दर्ता हुने मुद्दा अधिकांश लेनदेन र जग्गा विवादका रहेका छन् । न्यायिक समितिमा दर्ता भएका सात वटा लेनदेनका मुद्दामध्ये पाँच वटा फछ्र्यौट भएका छन् भने दुई वटा फछ्र्यौट हुन बाँकी छ । आफन्तभित्रै लेनदेनको मुद्दा धेरै छ– उनले भनिन्– नगरमा ऐलानी जग्गा धेरै भएकाले पनि सीमा विवाद धेरै आउने गरेको छ ।

हरेक साताको बिहीबार र शुक्रबार न्यायिक समितिले इजलासमा मुद्दा हेर्ने गरेको छ । गत दुई सातादेखि न्यायिक समितिमा नयाँ मुद्दा दर्ता भएका छैनन् । मुद्दा नभएको समयमा वडामा गएर मेलमिलाप समितिको अनुगमन गर्ने गरिएको उपप्रमुख शिवाकोटीले बताइन् । न्यायिक समितिले मुद्दा हेर्दा राजनीतिक दबाब, नातावाद, कृपावाद नहेरी स्वतन्त्र रुपमा न्याय सम्पादन गर्ने गरेको उनले सुनाइन् । अप्ठ्यारा र न्यायिक समितिबाट हुन नसक्ने मुद्दा आए अदालतमा पठाउने गरेका छौँ– उनले सुनाइन् ।

मेलमिलाप समितिलाई वर्षमा दुईपटक तालिम दिनुका साथै चुस्तदुरुस्त बनाउन अन्य पालिकाले गरेका राम्रा कामको अनुगमन गराएर अभ्यास गराउने गरिएको न्यायिक समितिका कानून अधिकृत भूपेन्द्र बस्नेलले बताए । गत आव २०८०÷०८१मा न्यायिक समितिमा २४ मुद्दा दर्ता भएकामा १९ वटा फछ्र्यौट भएका उनले बताए । कनकाई नगरपालिका–३, ५ र ८ वडाबाट मुद्दा धेरै आउने गरेका उनले बताए ।

नगरमा उपप्रमुख शिवाकोटी, वडाध्यक्ष बलराम राई र कार्यपालिका सदस्य नवलकिशोर दत्तसहित तीन सदस्यीय न्यायिक समितिले न्याय सम्पादन गर्दै आएको छ भने प्रत्येक वडामा वडासदस्यको संयोजकत्वमा मेलमिलाप केन्द्र गठन गरेर ‘वीन–वीन’ माध्यमबाट विवाद समाधान गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here