दृष्टि आँखा अस्पतालले मनायो मायोपिया सचेतना सप्ताह

0
71

गोपाल अधिकारी ,
बिर्ताबजार।

झापाको बिर्तामोड–३ सैनिकमोडमा रहेको दृष्टि आँखा अस्पतालले अदुरदृष्टि (मायोपिया) रोग सम्बन्धी सप्ताहव्यापी कार्यक्रम समापन गरेको छ ।

सबैका लागि दृष्टि ,सधैँका लागि दृष्टि भन्ने मूल नाराका साथ जेठ ५ गतेबाट शुरु भएको मायोपिया अर्थात् अदुरदृष्टि रोगबाट बालबालिका,युवा तथा वृद्ध सबै उमेर समूहमा हुने रोगको बारेमा जागरुक बनाउने उद्धेश्यले अभियान सञ्चालन गर्दै समाजलाई सचेतना जगाउने काम गरेको अस्पतालका दृष्टि विशेषज्ञ अजितकुमार ठाकुरले औचित्य माथि प्रकाश बताएका थिए ।

दृष्टि विशेषज्ञ ठाकुरका अनुसार सन् २०२० मा झण्डै २.६ अर्ब मानिसमा मायोपिया भएको अनुमान गरिएको थियो । सन् २०५० सम्ममा विश्वको आधा जनसंख्यामा मायोपिया हुने पूर्वानुमान गरिएको छ । जसको अर्थ विश्वको आधा भन्दा बढी मानिसहरूले चस्माको प्रयोग गर्नुपर्ने अनुमान विश्व स्वास्थ्य संगठनको रहेको अवगत गराएका थिए।

अस्पतालका अध्यक्ष राम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । उनले मानव जीवनको अभिन्न अंग आँखा जस्तो संवेदनशील अंगलाई सचेतना कार्यक्रम मार्फत जनचेतना जगाउने काम गरेको भन्दै दष्टि आँखा अस्पतालको प्रशंसा गरिन् । खानपानमा उचित ध्यान पुर्‍याउन नसकेर दृष्टि गुमाएर बाँच्नु पर्दाको जीवन अत्यन्त कष्टकर रहने भएकोले अस्पतालहरूद्वारा दृष्टि बचाउन गरिएका प्रयत्नहरूलाई अक्षरस पालना गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकी, जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी , बिर्तामोड आँखा अस्पतालका मेडिकल डाइरेक्टर विनोद दाहाल, मेची नेत्रालय काँकरभिट्टाका मेडिकल डाइरेक्टर शरद चन्द्र प्रकाश राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वंशाणुगत, कम प्रकाश, धेरै नजिक रहेर पढ्नु लेख्नु तथा बाह्य वातावरणमा कम समय दिनुका साथै टेलिभिजन, ल्यापटप, कम्प्युटर ट्याब र मोबाइल जस्ता उपकरण बढी मात्रामा हेर्दा  मायोपिया रोग लाग्ने बताइएको छ ।

सोही अवसरमा स्क्रिन डाउन, आई अप (पर्दा तल, आँखा माथि) भन्ने नाराका साथ आयोजित साइकल र्‍यालीमा ४० जना राइडरहरुको सहभागिता रहेको थियो । बिर्तामोडबाट शुरु भएको र्‍याली चारपाने, अर्जुनधारा, सालबारी, बुट्टाबारी, बिर्ताबजार हुँदै दृष्टि आँखा अस्पतालमा पुगेर समापन भएको आकाश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले दृष्टि आँखा अस्पताल रहेको कोशी प्रदेश अन्तरगत बिर्तामोड, बागमती प्रदेश अन्तरगत काठमाडौँ र मधेश प्रदेश अन्तरगत बीरगञ्ज सहित झापामा रहेका सबै आँखा अस्पतालहरूसँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा बढ्दै गएको मायोपिया अर्थात अदूर दृष्टिका सम्बन्धमा व्यापक सचेतना जरुरी रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डक्टर सविता पालिखेले बताइन् । उनले कार्यक्रमका सहभागीलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन पत्रकार रञ्जित प्रसाईले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here