गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक शिक्षाको उज्यालो केन्द्र

0
177

विनोद सापकोटा

झापा . झापाको शिवशताक्षी नगरपालिका–११ झिलझिलेमा स्थापित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालय प्राविधिक शिक्षाको क्षेत्रमा उज्यालो सम्भावनाको केन्द्र बन्दै गएको छ ।

प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता स्वर्गीय गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै २०७७ सालमा स्थापना गरिएको यस शिक्षालयले ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै गुणस्तरीय, व्यवहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सूचना प्रविधि, साथै प्री–डिप्लोमा तहमा सिभिल र सूचना प्रविधिका कोर्सहरू सञ्चालन हुँदै आएका छन् ।

प्रतिष्ठानका सहायक प्राचार्य गणेश अधिकारीका अनुसार हाल १७१ जना विद्यार्थी विभिन्न कार्यक्रमहरूमा अध्ययनरत छन् । ‘हामीसँग १६ जना दक्ष र तालिमप्राप्त शिक्षक हुनुहुन्छ । जो विद्यार्थीको सीप र भविष्य निर्माणमा समर्पित हुनुभएको छ ।’ उनले भने । नेपाल सरकारबाट उपलब्ध ९ बिघा ११ कट्ठा ६ धुर जग्गामा भौतिक संरचना निर्माण भएका छ । केही ब्लक निर्माण कार्य जारी रहेको छ । हालसम्म करिब साढे ४ करोड रुपैयाँ बराबरको पूर्वाधार निर्माण सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयबाट प्राप्त साढे ७ करोड रुपैयाँ बजेटले थप संरचना निर्माणको काम तीव्र रुपमा अघि बढाइने प्रतिष्ठान अध्यक्ष सन्तोष कुमार मेन्याङ्बोले जानकारी दिए ।

‘निकट भविष्यमा आफ्नै आधुनिक भवनबाट अध्ययन–अध्यापन सञ्चालन हुनेछ,’ अध्यक्ष मेन्याङ्बोले भने, ‘स्वास्थ्य, कृषि, पशुपालन, होटल म्यानेजमेन्ट, व्यवस्थापन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । साथै ५०० सैयाको अस्पताल स्थापना गर्ने योजना पनि अघि बढिसकेको छ ।’ प्रतिष्ठानबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थी अहिले स्वदेश तथा विदेशमा रोजगारीमा संलग्न छन् । ‘हालसम्म १५ जना विद्यार्थी विभिन्न विकसित मुलुकमा आफ्नै सीपको आधारमा काम गरिरहेका छन्,’ सहायक प्रचार्य अधिकारीले थपे ।

स्थानीय अभिभावक शारदा न्यौपानेले प्रतिष्ठानले गाउँमै प्रविधिमैत्री शिक्षा दिने अवसर मिलाएको भन्दै सन्तोष व्यक्त गरिन् । ‘हाम्रो छोरी कम्प्युटर इन्जिनियरिङ पढिरहेकी छिन् । अब शहर जानु नपर्ने भएको छ,’ उनले भनिन् । सञ्चालक समिति सदस्य पर्शुराम ढुँगानाले सबै राजनीतिक दलको प्रतिनिधित्वसहित २१ सदस्यीय समिति निर्माण हुनु संस्थाको समावेशी संरचना र दीर्घकालीन स्थायित्वको आधार भएको बताए । ‘यो सबैको साझा प्रयास हो, प्रतिष्ठान हाम्रो नगरको मेरुदण्ड हो,’ ढुँगानाले भने ।

प्रतिष्ठान ले शुक्रबार आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा शिवशताक्षी नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक समितिका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऋत्भ्ख्त् का कोशी प्रदेश प्रतिनिधि तथा दमक आङ्गिक प्राविधिक शिक्षालयका प्रमुख दुःखीराम महरा, शिवशताक्षी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई शिवशताक्षी नगरको मेरुदण्डको रूपमा व्याख्या गरे । उनीहरूले प्राविधिक शिक्षामार्फत आत्मनिर्भरता, उद्यमशीलता र रोजगारी सिर्जनामा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गाउँमै प्रविधि, सीप र अवसरको संगम बनेको यो प्रतिष्ठान अब केवल शिक्षालय नभई सामाजिक, शैक्षिक र आर्थिक रूपान्तरणको आधारशिला बन्दै गएको अभिभावकले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here