इलामको प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न पर्यटकको सुझाव

0
15

राेशन काफ्ले
इलाम,

इलाम जिल्ला पछिल्लो सयम विदेशी पर्यटकको गन्तव्य ‘टुरिज्म हब’का रूपमा विकसित हुँदैछ । तर, प्लास्टिकजन्य फोहोरका कारण सौन्दर्य कुरूप हुने पर्यटकको चिन्ता छ ।

बेलायतबाट नेपाल आएकी सु चेम्बरलेनले इलाम खुबै मन परेको बताइन् । उनले यहाँ ढुक्कसँग बस्न, हिँड्न पाइएको भन्दै खुसी व्यक्त गरिन् । ‘यहाँको खाना पनि मीठो, मान्छे पनि मिजासिला रहेछन्,’ उनले पत्रकारहरूसँग भनिन्, ‘करिब ४४ वर्षअघि पनि नेपाल आएकी थिएँ ।’

‘तर, इलाममा प्लास्टिकको फोहोर बढेको रहेछ,,’ उनले भनिन्, ‘फोहोर व्यवस्थापनमा काम गर्नसके इलामको पर्यटकीय भविष्य राम्रो छ ।’ उनले पहिला आउँदा पोखरा घुमेको, त्यो बेला पोखरा, फेवाताल ज्यादै रमाइलो लागेको तर अहिले दुःखलाग्दो अवस्था भएको बताइन् । ‘अहिले त्यो पोखरा पुरानो पोखराजस्तो लागेन, सबैतिर कंक्रिट, धुवाँ, फोहोर, बार, डिस्कोले त्यहाँको सौन्दर्य कुरूप भएछ,’ उनले भनिन्, ‘पोखरा बस्न नसकेर इलाम आएँ, इलाम साँच्चीकै शान्त र आनन्दको लागिरहेछ ।’

इलामका विभिन्न भू–भाग छन्, जसले जो–कसैको मन लोभ्याउने गर्छन् । विदेशी पर्यटक पछिल्लो समय श्रीअन्तु, कन्याम, गुफापाताल, माइजोगमाईको नयाँबजार, थुम्के, मेघमा, तुम्लिङ, कालपोखरी हुँदै पदयात्रा गरेर इलामकै अग्लो (३६३६) मिटर सन्दकपुर चुकुरोसम्म पुग्ने गर्छन् ।

इलाममा अन्य थुप्रै ठाउँ छन्, जुन नेपालमात्र होइन, पूरै विश्वसामु चिनिएका छन् । तुम्लिङबाट नेपाल, छिमेकी देश भारत, भुटानलगायत देशका हिमाल देखिन्छन् । कञ्चनजंघा, कुम्भकर्ण, मकालु र सर्वोच्च शिखर सगरमाथासमेत यहाँबाट देखिन्छ्न । नेपालमा पाइने ३६ प्रजातिका गुराँसमध्ये २० हाराहारी यहीं पाइने गरेको जानकार बताउँछन् । विश्वबाट दुर्लभ रेडपान्डा र गिद्व हेर्न पर्यटक यहाँ आउनेगरेका छन् ।

पछिल्लो समय विदेशीले नेपालका रैथाने खाना, विभिन्न जातजातिका संस्कृति झल्किने वेशभूषा मन पराइरहेका छन् । भारत, बंगलादेश, भुटान, चीनलगायत देशका नागरिकले इलामलाई खुबै मन पराउने गरेको उनीहरूको भनाइबाट प्रष्ट हुन्छ ।

प्रायः भारत पश्चिम बंगालका पर्यटक अचेल मोटरसाइकलसमेत लिएर इलाम आउनेगरेका छन् । यहाँ आएर उनीहरूले भ्लग बनाएर नेपालको प्रचार गर्ने गरेका छन् । क्यानेडियन नागरिक ज्याक जसले सूर्योदय नगरपालिका १० मा गाई फार्मसमेत खोलेर बसेका छन् । उनले यहाँका तीन जनालाई रोजगारीसमेत दिएका छन् । यस्ता अन्य उदाहरणसमेत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here