अर्जुनधारा ।

झापाको बुद्धशान्ति–२ जयपुरस्थित जेभीयर्स इङलिस बोर्डीङ स्कूलका छात्र प्रशन्न थपलीया अर्जुनधारामा आइतबार सम्पन्न भएको भानुभक्तकृत रचना, गायन तथा वाचन प्रतियोगिता–२०८२मा प्रथम भएका छन् ।
आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समिति र अर्जुनधारा संस्कृत वेद विद्यापीठको संयुक्त आयोजनामा आयोजित उक्त प्रतियोगितामा उनी प्रथम भएका हुन् ।
गुरुकुल, सामुदायिक, संस्थागत र संगीत विद्यालयसहित जम्मा १८ वटा शैक्षिक संस्थाको सहभागिता रहेको प्रतियोगितामा बिर्तामोडस्थित सरगम संगीतालयका प्रशुन गुरागाईं द्घित्य, बिर्तामोड–२स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका छात्र सुरज खनाल तृतीय, अर्जुनधारा–३स्थित न्यू होप इङलिस सेकेण्डरी बोर्डीङ स्कूलका छात्र रिग्नेस सापकोटा चौथो र मेचीनगर नगरपालिकास्थित माधव संस्कृत वेद विद्याश्रमका बटुक भूवन रिजाल पाँचौं भएका छन् ।
आयोजक विद्यापीठ व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कलाकार एवम् साहित्यकार टंक शर्मा गौतमलगायतले प्रथम, द्घितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई प्रमाण पत्रसहित नगद पुरस्कारबाट पुरस्कृत गरेका थिए ।
कार्यक्रममा साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका अध्यक्ष छन्दुराम भण्डारी, शनिश्चरे माध्यमिक विद्यालयका पूर्व शिक्षक भीम नेपाल, साहित्यकार लोकनाथ पौडेल, साहित्यकार चित्रकला पौडेललगायतले आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए । विद्यापीठका प्राचार्य हेमन्त भण्डारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले गरेका थिए ।































