योगेन्द्र योगी
विराटनगर,

मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका- ७ स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। यस्तै, प्रहरीले मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्की सहित धरान- १० का २४ बर्षीय अंकित राई र धरान- ६ का २१ बर्षीय भरत मगर, धरान- १३ का २३ बर्षीय सागर राई, धरान- ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान- ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो ।
त्यसैगरी मोरङको रंगेली नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ९ झापाका ३५ बर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका- १ का ३३ बर्षीय आकाश खड्कालाई नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको जनाएको छ।
कोशीमा दिन प्रतिदिन बढ्दै गएको लागु औषध दुर्व्यसनको समस्यालाई नियन्त्रण गर्न अबको युद्ध, दुर्व्यसनविरुद्ध भन्ने नारासहित दुर्व्यसनविरुद्ध अभियान संचालन गरिएको भएपनि त्यो खासै प्रभावकारी हुन नसकेको बेला कोशी प्रहरी लागु औषध कारोबारी गर्ने माथि निर्मम बन्दै गएको हो।
कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।































