बिर्तामोड, बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका बडा नं २ का वडाध्यक्ष किशोरकुमार पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्लस टु कोअर्डीनेटर केवल सापकोटाले स्वागत गरेका थिए ।
उनले विद्यार्थीले पालना गर्ने नियम र विद्यालयको आचारसंहिताको बारे विद्यार्थी तथा अभिभावकलाई जानकारी गराएका थिए ।
विद्यार्थी रूवि पाठकले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा प्लस टु पढाउने शिक्षकहरूले आफूले पढाउने विषयको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यालयका संस्थापक हरिकुमार प्रसाईले देखाएको बाटोमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।
उनले विद्यार्थी तथा अभिभावकलाई शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए ।
कार्यक्रममा त्रिदेव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरे, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए ।
कक्षा १२ का विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेको कार्यक्रममा विद्यालयद्वारा जारी गरिएको मोबाइल एप प्रयोग सम्वन्धी जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।































