भद्रपुर भन्सारको कारोबार ठप्प, वार्षिक राजस्व असुलीमा गिरावट

0
125

झापा ।

भद्रपुर भन्सार कार्यालयको कारोबार ठप्प बनेको छ। भारततर्फको गलगलिया भन्सार कार्यालयको प्राविधिक समस्या कारण भद्रपुर भन्सार कार्यालयको यात्रु शाखा बाहेकका सम्पूर्ण कारोबार ठप्प बनेको हो।

विगत २० देखि कारोबार ठप्प हुँदा करिब दुई करोड रुपैयाँ भन्दा बढी राजस्व गुमेको भन्सार प्रमुख अर्जुनकुमार सिटौलाले जानकारी दिए। गलगलिया भन्सारले अनलाइन सफ्टवेयर प्रणाली जडान गर्दै भन्सार हाउस एजेन्ट (सीएचए) अनिवार्य लागू गरेपछि त्यसको असर भद्रपुर भन्सारमा परेको भन्सार प्रमुख सिटौलाले बताए। पहिला अफलाइनबाटै काम भइरहेको गलगलिया भन्सार अब अनलाइन प्रक्रियामा गएको २० दिनबित्न लाग्दा समेत समस्याको समाधान नभएको उनको भनाइ छ।

‘असार १४ गतेदेखि भारतबाट सामान आयात हुन छाडेपछि यस बारेमा पटक–पटक गलगलिया भन्सारका सुपरिन्टेन्डेन्टसँग भेटेर बुझ्ने प्रयास गरेका छौँ। सुपरिन्टेन्डेन्ट पनि भर्खरै आएको र त्यहाँका पुराना कर्मचारीलाई सफ्टवेयर प्रणाली जान प्राविधिक कठिनाइ उत्पन्न भएको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘भन्सारमा राजस्व संकलन ठप्प बनेको बारेमा भन्सार विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ।’

मुख्य भन्सार नभएकोले यसतर्फ हालसम्म कहिकतैबाट सुनुवाइ नभएको उनले गुनासो पोखे। भन्सारमा कामकाज नहुँदा भन्सार कर्मचारी केही दिनदेखि फुर्सदिला बनेका छन्। व्यापारी तथा कारोबारी पनि वैकल्पिक रुपमा अन्य भन्सारको बाटो प्रयोग गर्न बाध्य छन्। केही व्यापारीको सरसामान चाहिँ गलगलिया आसपासको गोदाममा भरिभराउ छ।

‘नियमित रुपमा आइरहेको कृषिमा प्रयोग हुने विषादीजन्य पदार्थहरू विराटनगर र प्लाईमा प्रयोग हुने रेजिन काँकडभिट्टा नाकातर्फ गइसकेको छ,’ उनले भने, ‘लत्ताकपडा लगायतका सरसामान पारिपट्टिका गोदाममा व्यापारीहरूले राखेको जानकारी प्राप्त भएको छ।’ भद्रपुर नाकाबाट लत्ताकपडा, जुत्ता चप्पल, कृषिमा प्रयोग हुने विषादीजन्य तथा औजार, सुर्ती, रेजिन बोकेको टंयाकर आउने गरेको भन्सारले जनाएको छ।

भन्सारको राजस्वमा गिरावट

कुनै बेला लक्ष्यभन्दा बढी राजस्व असुली हुने भद्रपुर भन्सारको राजस्वमा गिरावट आइरहेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष भन्दा यस वर्ष करिब ३ करोड राजस्व कम उठेको हो। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २४ करोड ३४ लाख २७ हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा २० करोड ८६ लाख ७० हजार राजस्व संकलन भएको भन्सार प्रमुख सिटौलाले जानकारी दिए।

अघिल्लो वर्ष लक्ष्य असुली १२ करोड ७७ हजार ९ सय भएकोले प्रगति प्रतिशत २०१ थियो। यस वर्ष त्यसलाई बढाएर ३३ करोड १३ लाख ७३ हजार लक्ष्य राखिएकाले प्रगति प्रतिशत ६३ मात्र भयो। दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलना करिब ३ करोड राजस्व कम उठेको बताउँदै भन्सार प्रमुख सिटौलाले भने, ‘असारमा १८ दिन काम भएन, त्यसको असर पनि वार्षिक लक्ष्य असुलीमा परेको हो।’

साथै ठुलो परिमाणमा यस नाकाबाट भित्रिने लत्ताकपडा पनि आउन छोडेकाले पनि राजस्व संकलनमा ठूलो असर परेको उनको भनाई छ। पहिला जसरी यो नाकाबाट गाडीका गाडी लत्ताकपडा भित्रिन्थ्यो। ‘त्यसरी नै भित्रिदिएको भए वार्षिक राजस्व असुली दुई सय प्रतिशत पुग्थ्यो,’ उनले थपे।

चालु आर्थिक वर्ष २०८२/०८३ मा भन्सारको वार्षिक राजस्व असुली २५ करोड ३ लाख २५ हजार राखिएको उनले बताए। भन्सारको मासिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनमा १ करोड २५ लाख २९ हजार, भदौमा १ करोड ७५ लाख ५२ हजार, असोजमा १ करोड ८२ लाख १९ हजार, कार्तिकमा १ करोड २७ लाख ५१ हजार, मङ्सिरमा १ करोड ५८ लाख ९ हजार, पुसमा १ करोड ५७ लाख ६२ हजार रहेको छ।

त्यस्तै माघमा १ करोड ३० लाख, फागुनमा २ करोड ४७ लाख ७ हजार, चैतमा २ करोड २ लाख ३२ हजार, वैशाखमा २ करोड ४३ लाख ४ हजार, जेठमा २ करोड ४५ लाख ३९ हजार र असारमा ९२ लाख ३६ हजार राजस्व असुली भएको भन्सारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here