अहिलेको संविधान सर्वोत्कृष्ट- कांग्रेस सहमहामन्त्री यादव

0
161

विर्तामोड।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रकुमार यादवले अहिलेको संविधान सर्वोत्कृष्ट रहेको चर्चा गर्नुभएको छ ।

नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता यादवले संसदमा चारजात, छत्तिस वर्णको फूलबारी देखिने विशेषता बोकेको संविधान सर्वोत्कृष्ट रहेको बताउनुभएको हो ।

‘समतामूलक सहभागिता, सवै जात, वर्ग, क्षेत्र, लिङ्गको प्रतिनिधित्व, मिश्रित प्रणाली एवं संसदमा सबैको प्रतिनिधित्व देखिनु संविधानको विशेषता हो’–यादवले भन्नुभयो–‘संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो ।’ संविधान र निर्वाचन प्रणालीमा कुनै खरावी नरहेको जिकिर गर्दै सहमहामन्त्री यादवले पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको कमी र संसदीय निर्वाचनमा देखिएको ईश्र्या एवं इगोकै कारण पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको धारणा राख्नुभयो । निर्वाचन प्रणालीकै कारण बहुमत आएन भनेर गरिएको टिप्पणीप्रति असहमति ब्यक्त गर्दै उहाँले जनमत जित्ने गरी कार्य गर्न जनप्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।

लोकतान्त्रिक ब्यवस्थाको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेस–एमाले सहकार्य बाध्यकारी भएको बताउँदै पूर्व मन्त्री समेत रहनुभएका नेता यादवले गुटउपगुट त्यागेर पार्टीलाई बलियो बनाउन सबै तहका नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । निर्वाचनमा कुनै दलसँग सहकार्य हुने–नहुने कुरा त्यसबेलाको परिवेश हेरेर निर्णय गरिने उहाँको भनाइ छ ।
नेपालको राजनीतिक परिवर्तनमा गिरिजाप्रसाद कोइराला र कृष्ण सिटौलाको योगदान अति महत्वपूर्ण रहेको चर्चा गर्दै यादवले भन्नुभयो–‘गिरिजाप्रसाद कोइरालाको दुरदर्शिता र कृष्ण सिटौलाको क्षमताकै कारण शान्ति सम्झौता भएर संविधानसभाबाटै संविधान निर्माण सम्भव भएको हो ।’

कार्यक्रममा नपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले निर्वाचनको मुख्य प्रतिष्पर्धी एमाले नै रहेको बताउँदै तरबारको धारमा टेकेर गरिएको सत्ता साझेदारी जोखिमपूर्ण रहेको टिप्पणी गर्नुभयो । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्नु जरुरी देखिएको बताउँदै उहाँले पार्टीको क्रियाशिल सदस्यता नवीकरण र नयाँ वितरण कार्यमा केन्द्रीय सदस्यहरुको सक्रियता आवश्यक देखिएको धारणा राख्नुभयो । काठमाडौं केन्द्रित राजनीति छोडेर गाउँ एवं वडा केन्द्रित राजनीतिमा लाग्न केन्द्रिय सदस्यहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।

नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here