झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा रहेका मन्त्रीहरु एकपछि अर्को गर्दै भ्रष्टाचारमा मुछिन थालेकाले उनीहरु कमाउको होडवाजीमा रहेको बताएका छन् ।
राप्रपा मेचीनगरको पाँचौ नगर अधिवेशनको उद्घाटन गर्दै लिङ्देनले सरकारले जनतालाई बिदेशमा बेचेर खाने, महङ्गी बढाएर खाने,शरणार्थी बनाएर बिदेशमा पठाएर खाने, भिजिट भिसामा पठाएर पनि खाने गरेको भन्दै जहाँ र जसरी भएपनि कमाउने प्रवृति हावी भएको दावी गरे । राप्रपा एक मात्र पार्टी जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र बुझाएर भ्रष्टाचारविरुद्ध औंला उठाएको उनले बताए । राप्रपाबाहेकका सबै पार्टी कुनै पनि फायल खोल्ने भनेपछि डरले काँप्ने गरेको उनको भनाई छ ।
मेचीनगर –१०, धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवनको सभाहलमा राप्रपा मेचीनगर नगर समितिको आयोजनामा सो अधिवेशन भएको हो । मेचीनगर नगर अध्यक्ष तथा कोशी प्रदेश सभा सदस्य सबिना बजगाईँको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष लिङ्देन , केन्द्रीय सदस्य श्यामसुन्दर ओली,झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझालगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले चन्द्र निरौलाको अध्यक्षतामा २१ सदस्यीय नगर समिति सर्वसम्मत गठन गरेको छ । जसको सदस्यहरुमा सूर्यबहादुर राई, राजननाथ बेडारी, कृष्णबहादुर खड्का,चन्द्रप्रसाद सुवेदी ,परशुराम पराजुली , गिरीराज पौडेल , शारदा पराजुली, मनिका गिरी , धनमाया गौतम,अस्मिता खरेल , सन्तोष भट्टराई ,ओमनाथ बराल, भक्तिप्रसाद गड्तौला, लक्ष्मणकुमार लिम्बू,देबीमाया सिवाकोटी, बासुदेब उप्रेती, कुशुम कटुवाल, गोबिन्द न्यौपाने , खड्ग श्रेष्ठ र इन्द्रबहादुर थापा रहेका छन् ।































