शिवसताक्षीमा संस्कृत भाषा सिकाई तालिम सुरु

0
405

झापा, साउन ५ संस्कृत भाषा संरक्षण र प्रवर्द्धनका लागि झापाको शिवसताक्षीमा १५ दिने आवासीय संस्कृत भाषा सिकाई तालिम सुरु भएको छ। गोलोक गोवर्धन गौशाला र श्री शताक्षी संस्कृत गुरुकुलको संयुक्त आयोजनामा शताक्षीधामस्थित गौशालाको सभा हलमा शनिबारदेखि तालिम सुरु भएको हो। हराउँदै गएको संस्कृत भाषालाई जगेर्ना गर्न र नयाँ पुस्तामा यसको ज्ञान विस्तार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ। तालिम साउन १७ गते समापन हुने छ। सहजीकरण समीक्षा सुवेदीले गरिरहेकी छन्।

तालिममा श्री शताक्षी संस्कृत गुरुकुलका ४१ जना र सरस्वती कन्या गुरुकुल माईधारका ११ छात्रा सहित ५२ जना छात्रछात्राको सहभागिता रहेको छ। तालिमको उद्घाटन अमेरिकाबाट आएका आचार्य पण्डित बिदुरप्रसाद दाहालले गरेका थिए।

उद्घाटन मन्तव्यमा उनले संस्कृत भाषा मानव सभ्यताको मूल भाषा भएको उल्लेख गर्दै यसको उत्पत्ति र ऐतिहासिक पक्षबारे प्रकाश पारे। उनका अनुसार संस्कृत भाषा वैदिक युगमै अस्तित्वमा आएको हो र यो ब्रह्माको मुखबाट उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ।

आर्य सभ्यताको विकाससँगै यो भाषा धार्मिक ग्रन्थ, दर्शन, आयुर्वेद, ज्योतिष, व्याकरण जस्ता क्षेत्रको आधारभूत भाषा बन्न पुगेको हो। हजारौं वर्ष पुरानो यस भाषाले हिन्दु धर्मका वेद, उपनिषद्, स्मृति, पुराणजस्ता शास्त्रमार्फत ज्ञानको विशाल भण्डार संसारभर फैलाएको उल्लेख गरिएको छ।

कार्यक्रममा गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य श्री नन्दकिशोर जी महाराज, युरोप, नेपाल, भारत र भुटानमा ख्यातिप्राप्त पण्डित कुबेर सुवेदी, नेपाल–भारत हिन्दु महासङ्घका केन्द्रीय प्रवक्ता आचार्य पण्डित घनश्याम खनाल, भुवनेश्वरी दाहाल लगायतले संस्कृत भाषालाई व्यवहारिक स्तरमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।

उनीहरूले संस्कृत लिपिलाई विद्यालयदेखि विश्वविद्यालयसम्म र तीन तहका सरकारी कामकाजमा समेत प्रयोगमा ल्याउनुपर्ने प्रस्ताव अघि सारे। कार्यक्रमको सहजीकरण आचार्य पण्डित मदनमोहन अधिकारीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here