– अर्काको लाइसेन्सको भरमा औषधि बेच्दै, अनुगमन प्रभावकारी बनेन
– गैरकानूनी कार्य गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष खड्का
बिर्तामोड ।

औषधि व्यवस्था विभाग विराटनगरले एक सय सात वटा फार्मेसीलाई निलम्बन गर्नुका साथै ६६ वटा फार्मेसीलाई सिलबन्दी गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा नियम विपरीत काम गर्ने औषधि फार्मेसीहरुलाई कारवाही गरिएको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र्र खड्काले जानकारी दिए । कोशी प्रदेशका १४ वटा जिल्लामा विभिन्न समयमा अनुगमन गरिएको बताइएको छ । एक वर्षको अवधिमा छ सय नौ वटा अनुगमन गरिएको बताइएको छ । जसमा ४४ वटा मुद्दा अभियोजन गर्नुका साथै १२ वटा फस्र्यौट र ३० वटा उजुरी प्राप्त भएको सूचना अधिकारी खड्काले बताए ।
नेपालमा प्रतिबन्धित औषधि तथा नियम विपरीत सञ्चालनमा रहेका फार्मेसी तथा अस्पतालहरुको अनुगमन र निरीक्षक हुने गरेको उनले बताए । एक वर्षको अवधिमा नियम विपरीत कार्य गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुका साथै एक करोड पाँच लाख पाँच हजार आठ सय रुपैयाँ राजश्व संकलन गर्न सफल भएको औषधि व्यवस्था विभाग विराटनगरको तथ्यांकमा उल्लेख गरिएको छ ।
एक वर्षको अवधिमा २० वटा अस्पताल फार्मेसी, एलोप्याथिक फार्मेसी २८, एलोप्याथिक खुद्रा फार्मेसी पाँच सय २६, आयुर्वेदिक फार्मेसी ११, भेटेरिनरी फार्मेस १२, होमियोपेथिक फार्मेसी गरी छ सय नौ वटा फार्मेसी तथा अस्पताल फार्मेसीको अनुगमन गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
सरकारले एक वर्षमा पाँच सय वटा अनुगमन गर्न लक्ष्य दिए पनि लक्ष्यभन्दा बढी अनुगमन गर्न व्यवस्था विभाग सफल भएको उनले बताए । जनशक्तिको अभावका कारण नियमित रुपमा अनुगमन गर्न नसकिएको उनको भनाइ छ ।
अनुगमनका क्रममा ३४ वटा फार्मेसी दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको थियो । त्यस्तै व्यवसायी÷फर्माशिष्ट अनुपस्थित एक सय ४६, दर्ता नभएको औषधि पाँच, लागू तथा मनोद्विपक औषधिको रेकर्ड नराखेको ८२, उचित तापक्रममा भ्याक्सिन सञ्चय नगरेको २३ र म्याद नाघेका औषधि सञ्चय गरेको १६ वटा फार्मेसीहरुलाई कारवाही गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
औषधि व्यवस्था विभाग विराटनगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले अनुमति तथा सूचिकृत गरिएको औषधि विक्रीवितरण गर्न फार्मेसीहरुलाई आग्रह गरेको छ ।
पछिल्लो समय फार्मेसीहरुबाट नेपालमा प्रतिबन्धित औषधि तथा लागूऔषध बिक्रीवितरण हुने गरेको तथ्य खुलेको छ । झापाको बिर्तामोडमा केही दिनअघि औषधि व्यवसायीले नै नेपालमा प्रतिबन्धित लागूऔषधको बिक्रीवितरण गर्ने गरेको खुलेसँगै फार्मेसीहरु माथि निगरानी बढाउनुपर्ने माग बढ्दै गएको छ ।
स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिनुपर्ने माग बढ्न थालेको छ । अनुगमन नहुँदा अनुमति बिना औषधिको बिक्रीवितरण हुने गरेको गुनासो बढ्दै गएको छ । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा व्यवसायी तथा चिकित्सक जिम्मेवार बन्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।
नेपालमा प्रतिबन्धित औषधिको बिक्रीवितरण हुनु तथा अनुमति बिना सञ्चालनमा रहेका फार्मेसीमा अदक्ष जनशक्तिले औषधि बिक्रीवितरण गर्नुले आममानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको सरोकारवालाको भनाइ छ ।
चिकित्सवको प्रिस्क्रिप्सन बिना औषधि विक्रि वितरण गर्न पाइन्न तर, खुलेआम रुपमा औषधिको नाम भनेको भरमा केही औषधि ब्यवसायीहरुले मनोद्विपक औषधि समेत विक्रि गर्ने गरेको बताइएको छ ।
यता नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले आौषधि व्यवस्था विभागले प्रभावकारी रुपमा अनुगमन गर्न नसकेको बताएका छन् । नेपाल औषधि व्यवसायी संघ झापामा तीन सय ६३ भन्दा धेरै सदस्य रहेको र यसले सदस्यहरुको पक्षमा बोल्ने भए पनि गैर कानुनी कार्य गर्ने जो कोहीलाई कारबार्हीको दायरामा ल्याउँदा त्यसको बचाउ नगर्ने उल्लेख गरे ।
झापा, मोरङ र सुनसरीमा मात्रै करिब आठ हजार जति औषधिको खुद्रा तथा थोक विक्रि गर्ने फामेर्सीहरु रहेको तर औषधि व्यवस्था विभाग नै निम्त्रिको भरमा सञ्चालन भएकाले अनुगमन नै नहुने गरेको बताए । उनले देश संघियतामा गए पनि अझै औषधि व्यवस्था विभाग भने केन्द्रिकृत संरचनामै सञ्चालन भइरहेको बताए ।
उनले फाामेर्सी सञ्चालन सम्बन्धि कानुन २०५५ मा व्यवसायी तथा धनी भन्ने उल्लेख भएकाले कतिपयले लाइसेन्स नै धनीलाई बेचेर धनीमा व्यवसाय गर्ने थलो भएको बताए । उनले औषधि सम्बन्धि ज्ञान नै नभएकाहरुले औषधि बेच्ने गरेको भन्दै अनुगमन गर्ने तथा रामज्यले ध्यान दिनुपर्ने बताए । उनले बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेलले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित तथा नेपालमा दर्ता नै नभएका औषधि तथा लागूऔषध जन्य औषधि विक्रि गर्नु भनेको अपराध भएको उल्लेख गरे ।
उनले कुनै पनि व्यवसायीले जानाजान अपराध गर्छ भने उसको संरक्षण तथा बचाउमा लाग्न नसक्ने भन्दै दोषिलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्ने बताए । यता खरेल फरार रहेको लामो समयसम्म पनि इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गर्न सकेको छैन् ।































