पथरी शनिश्चरे।

मोरङको उर्लाबारी नगरपालिकामा टर्मिनल भवनसहित आधुनिक बसपार्कको शिलान्यास गरिएको छ। सोमबार बिहान उर्लाबारी–६ शुक्रबारे बजार लाग्दै आएको १ बिगाहा १३ कठ्ठा क्षेत्रफलमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बसपार्कको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडाध्यक्षहरू चिन्तामणि पौडेल, तिलक पाण्डे, नरबहादुर मोक्तान, उर्मिला थापा, सव डिभिजन वन कार्यालय, उर्लाबारीका प्रमुख नवीनराज दाहाल, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बराल, राजनीतिक दलका प्रतिनिधि, जग्गादाता र सर्वसाधारणको उपस्थिति थियो।
सो बसपार्क निर्माणको जिम्मा पाएको अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालिले ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको नगर प्रमुखको सचिवालयले जनाएको छ। सम्झौताअनुसार १८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बसपार्क निर्माणमा उर्लाबारी नगरपालिकाको ६० प्रतिशत ऋण, ३० प्रतिशत आन्तरिक लगानी र १० प्रतिशत नगर विकास कोषको अनुदानबाट लागत व्यवस्थापन हुने नगर प्रमुख खरेलले जानकारी दिए। उनले स्रोत सुनिश्चित भइसकेकाले तोकिएको समयमै सुविधासम्पन्न बसपार्क तयार हुने विश्वास व्यक्त गरे ।
यस्तै, उनले सो आयोजना नगरको सौन्दर्यीकरण र समग्र यातायात व्यवस्थापनका लागि ‘गौरवको आयोजना’का रूपमा अघि बढ्ने बताए। सो अवसरमा बोल्दै नगर उपप्रमुख मीना खतिवडा पौडेलले बसपार्क बनेपछि सवारी साधनहरूको अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरीन् । प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले सो आयोजना उर्लाबारी नगरका लागि ‘गेमचेन्जर’ बन्ने दाबी गरे । उनले स्थानीयको आर्थिक विकासको मुख्य आधार सडक र यातायात भएकाले बसपार्कले आर्थिक गतिशीलता ल्याउने विश्वास व्यक्त गरे ।
अभि डिजाइनर्स प्रालिका निर्देशक नवीन गौतमका अनुसार नयाँ बसपार्कमा टर्मिनल भवन, रनवे, सपोर्टवाल, ड्रेन, मुख्य राजमार्गदेखि बसपार्कसम्म जोड्ने कालोपत्रे पहुँचमार्ग, स्थानीय तथा लामो दूरीका सवारी साधनका लागि पार्किङ क्षेत्र, प्रतीक्षालयसहितका पूर्वाधार निर्माण गरिनेछ। यसअघि रहेका केही संरचनालाई सामान्य मर्मतपछि पुनः प्रयोगमा ल्याइने तयारी गरिएको छ।





























