वीरेन्द्र थोक्लिहाङको परिमार्जित संस्करण “गुम्सिएको अभिव्यक्ति” बजारमा

0
111

झापा,  झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिले निवासी साहित्यकार वीरेन्द्र थोक्लिहाङको सामाजिक–यथार्थवादी उपन्यास गुम्सिएको अभिव्यक्ति पुनः परिमार्जनसहित प्रकाशित भएको छ ।

लिम्बू समुदायको संस्कृति, सामाजिक विडम्बना र एक युवाको संघर्षपूर्ण यात्रालाई चित्रण गर्ने यो कृति नेपाली साहित्यमा विशेष योगदान दिन सक्ने उल्लेख गरिएको छ । साहित्यकार तथा प्राध्यापक डा. गोविन्दराज भट्टराईका अनुसार, “गुम्सिएको अभिव्यक्ति” नेपाली रोमान्टिक र सामाजिक आख्यानको क्षेत्रमा अत्यन्त उच्चस्तरको सिर्जना हो । भट्टराईले यस कृतिलाई विश्व साहित्यका चर्चित कृतिहरूसँग तुलना गर्दै “नेपाली क्लासिक” को दर्जा दिनुपर्ने उल्लेख गरे ।

वि.सं. २०४८ मा पहिलोपटक प्रकाशित उपन्यासको परिमार्जित संस्करण हालै पुनः बजारमा आएको लेखक वीरेन्द्र थोक्लिहाङले बताए । यो कृतिको मुल्य ५०० निर्धारण गरिएको छ । यो पुस्तक यतिबेला झापाका विभिन्न पुस्तक पसलहरूमा उपलब्ध छ । वीरेन्द्र थोक्लिहाङले यसअघि पनि कविता, गजल, कथा, नाटक, जीवनी र उपन्यास विधामा उल्लेखनीय सिर्जना प्रस्तुत गरिसकेका छन् ।

उनका चर्चित कृतिहरूमा घाँडो (कथा संग्रह, २०५२), प्यासी ओठ (उपन्यास, २०६३), पीडा बोर्डिङ मास्टरको (कविता संग्रह, २०६४), युद्धमा मारिएकी लुङ्गा बहिनीको चिठी (२०६५), यदि उसको भविष्य छ भने (नाटक संग्रह, २०७६), फाल्गुनन्द (उपन्यास, २०७९), केही किराँत धर्मालम्बीहरूको जीवनकथा (जीवनी संग्रह, २०८०) र राजेन्द्रकुमार जबेगु हाङवासाङ (जीवनी, २०८१) विशेष उल्लेखनीय छन् । २०२८ साल माघ १४ गते पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–२, एकतिनमा जन्मिएका थोक्लिहाङ देवीमाया र जङ्गप्रसाद थोक्लिहाङका सुपुत्र हुन् । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । लामो समयदेखि शिक्षण पेशामा संलग्न उनी साहित्य साधनासमेत निरन्तर गर्दै आएका छन् ।

गुम्सिएको अभिव्यक्ति उपन्यास एक किशोर पात्र ‘क्षितिज’ को आँखाबाट हेर्ने सामाजिक यथार्थको मार्मिक दस्तावेज हो । यस उपन्यासमा लिम्बू समुदायको संस्कृति, गरिबी, अशिक्षा, अन्धविश्वास र प्रेम–विछोडका संवेदनशील पक्षहरू कलात्मक ढंगले उतारिएको छ । साहित्यिक दृष्टिले परिपक्व र समाजशास्त्रीय रूपमा विचारोत्तेजक यो कृति पाठक, समीक्षक र शिक्षाविद्का लागि अत्यन्त सान्दर्भिक ठहरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here