युद्धबहादुर बोहोरा,
पाँचथर ।

पूर्वी नेपालको पाँचथर जिल्लामा रहेको बत्तीसे झरना र बत्तीसे रिसोर्ट अहिले पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।
चिसो पानी बग्ने रमणीय झरना, हरियालीले भरिएको वातावरण र झरनाको छेउमै बनाइएको रिसोर्टले यहाँ आउने जो–कोहीलाई लोभ्याइरहेको छ । यो ठाउँ फाल्गुनन्द गाउँपालिका–३ नम्बर वडास्थित निवुखोला नजिकै मेची राजमार्गबाट जम्मा पाँच सय मिटरको दूरीमा पर्छ, जसले गर्दा पुग्न सहज छ । प्राकृतिक सौन्दर्यका साथै यहाँको ट्रेकिङ मार्ग पनि रमाइलो छ । परिवार र साथीभाइसँग घुम्न चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य बनेको छ ।
वैदेशिक रोजगारमा रहेका स्थानीय व्यवसायी प्रेम नेम्वाङले करीब १ करोड ५० लाख रुपैयाँ लगानी गरेर बनाएको बत्तीसे रिसोर्टमा लिम्बू समुदायको मौलिक संस्कृति झल्कने होमस्टे, कलात्मक कटेज, स्विङ, फूलबारी, अग्र्यानिक तरकारी बगैंचा, बच्चाहरू खेल्ने पार्क र सानो चिडियाखाना समेत छन् ।
यहाँको विशेषता भनेको प्राकृतिक वातावरणसँगै रैथाने परिकार र अतिथि सत्कार हो, जहाँ रिसोर्टले आफ्नै बगैंचामा फलाएका ताजा फलफूल, तरकारी र अन्नका परिकार पाहुनालाई पस्किन्छ । यसले स्वदेशी स्वादको छुट्टै अनुभव दिन्छ । फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोल्साहरुमा पुल, पदमार्ग र पार्क बनाउने काम भइरहेको पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए ।

झोलुङ्गे पुल निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ, जसले आवतजावत झनै सहज बनाउनेछ । साथै झरनाको दृष्य अवलोकन र तस्वीर खिच्न थप सजिलो हुनेछ । यस ठाउँमा भौतिक संरचना निर्माण सम्पन्नपछि विभिन्न म्युजिक भिडियो र फिल्महरुको समेत छायाँकन गर्न सकिने स्थानीय युवा अनिश तामाङ बताउँछन् ।
पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेका अनुसार बत्तीसे चाँडै पूर्वी नेपालको पर्यटकीय ‘हटस्पट’ बन्ने तयारीमा छ । स्थानीय व्यवसायीले लगानी गरेर बनाएको रिसोर्ट र यस ठाउँको पर्यटकीय क्षेत्रले पालिकामा पर्यटन प्रवद्र्धनमा टेवा मिल्नुका साथै यस पालिकाको सौन्दर्य थपेको छ । यहाँ काठमाडौँ, भारतको बिहार र ताप्लेजुङबाट यात्रा गर्ने यात्रुहरूको संख्या बढ्दै गएको छ । पाथीभरा मन्दिर जाने क्रममा धेरै पर्यटक बत्तीसेमा पनि समय बिताउने गरेका छन् ।
रिसोर्ट सञ्चालिका रेनुका राई नेम्वाङ भन्छिन्– सिजन अनुसार पाहुनाको चाप बढ्ने गर्छ, यहाँको खाना सबैलाई मन पर्छ र धेरै पाहुना फर्केर पनि आउँछन् । यदि तपाईं शान्त, प्राकृतिक र मौलिक स्वाद अनुभव गर्न चाहनुहुन्छ भने, बत्तीसे झरना र रिसोर्ट घुम्न एकपटक अवश्य आउनुहोस् । यो पूर्वी नेपालको नयाँ र उदीयमान पर्यटकीय गन्तव्य हो । पछिल्ला गर्मी मौसममा शितलको आनन्द लिन र सुन्दर वातावरणमा रम्नेहरुको घुइँचो लाग्ने गरेको छ ।





























