धार्मिक पर्यटकीय स्थलको भ्रमणमा ज्येष्ठ नागरिक

0
92

ज्येष्ठ नागरिक खुल्ला किताबका पाना हुन् । मानव पुस्तकालयका महत्त्वपूर्ण अध्ययनका सामग्री पनि हुन् । ज्येष्ठ नागरिक ज्ञानका भण्डार हुन । साथै सामाजिक र ऐतिहासिक अनुभवका खानी हुन् । मानव इतिहासका जीवित र प्रत्यक्ष दर्शीका साथ ऐतिहासिक स्रोत पनि हुन् । ज्येष्ठ नागरिक परिवारको जग निर्माण गर्ने प्राविधिक इञ्जिनियर हुन् । साथै परिवार र समाजका अग्रज नेतृत्वमा रहेका अभिभावक पनि हुन् । उक्त कुराहरुको पुष्टी संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको भनाइले गर्दछ । अन्नानका अनुसार– ‘एउटा ज्येष्ठ नागरिकको देहावसानसँगै एउटा पुस्तकालयको अन्त्य हुन्छ ।’ वास्तवमै ज्येष्ठ नागरिकको देहावसानसँगै एउटा इतिहास नै अन्त्य हुन्छ । परिवाररुपी जगको पनि अन्त्य हुन्छ । हामीले सुनेका छौं– ‘बुढा मरै भाषा सरै’ यसको अर्थ बुढापाका मर्दै जाने हुनाले उनीहरु आफूले जानेका कुरा पछिल्लो पुस्तालाई सुनाउँदै जानु पर्दछ । पछिल्लो पुस्तामा सुनाउँदै गएमा उनीहरुभित्र भएका ज्ञान, सीप र अनुभवको स्थानान्तरण हुन्छ । यसरी एक पुस्ताबाट अर्को पुस्ता हुँदै भावी पुस्ताले पूर्वजका अनुभव उपयोग गर्दछन् ।

यसको अर्थ भावीपुस्ताले पुर्खाकै बाटो अवलम्वन गर्नेछन् । मनिस जब जन्मन्छ । ऊ शुरुमा नवजात शिशुका साथै केही अवधिसम्म शैशवकालको अवस्थामा रहन्छ । यसपछिका दिनमा क्रमिक रुपले ऊ बाल्यावस्था, किशोरावस्था, युवावस्था हुँदै वृद्धावस्थामा प्रवेश गर्दछ । यो शाश्वत रुपमा हुने नियमित प्रक्रिया हो । त्यसैले भनिन्छ कुनै पनि प्राणी जन्मन्छ, हुर्कन्छ र मृत्यु हुन्छ । यसर्थ जन्मपश्चात मृत्यु निश्चित छ । यसैगरी मानवको लागि पनि जन्मने, हुर्कने र मृत्यु हुने यी प्रक्रियाहरु निश्चित रुपमा रहेका हुन्छन् । जब मानिस बुढयौली हुदँै जान्छ । तब ऊ भित्र जैविक, सामाजिक–सांस्कृतिक तथा मनोवैज्ञानिक समस्याहरु देखा पर्दछन् । फलस्वरुप उनीहरु शारीरिक रुपमा अशक्त हुँदै जान्छन् । यस अवस्थामा श्रवणशक्ति, दृष्टिशक्ति पनि कमजोर हुँदै जान्छन् । हाडजोर्नीहरु कमजोर हुने गर्दछन् । यसका अतिरिक्त विभिन्न प्रकारका रोगबाट ग्रसित हुने, स्मरण शक्ति पनि कमजोर हुँदै जान्छ । यस अवस्थामा ज्येष्ठ नागरिकहरुलाई पूर्णरुपमा सहाराको आवश्यक पर्दछ ।
ज्येष्ठ नागरिक समाजका गहना हुन् । हाम्रो पूर्वीय दर्शनको मान्यता अनुरुप आमाबाबुलाई भगवानका रुपमा लिँदै मातृ देवः भव, पितृ देवः भव भनी उल्लेख गरिएको पाइन्छ । यसर्थ ज्येष्ठ नागरिकका रुपमा स्थापित भएका मातापिताको सम्मान गर्नु प्रत्येक सन्तान, परिवार, समाज र राज्यको प्रमुख दायित्व रहेको हुन्छ ।

नेपालको संविधान (२०७२)को भाग ३ को मौलिक हक र कर्तव्य अन्र्तगत धारा ४१ मा ज्येष्ठ नागरिकको हक सम्बन्धी व्यवस्था गरेको छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर उल्लेख गरिएको छ । यिनै कुरालाई महत्त्व दिएर विर्तामोड नगरपालिका वडा नं. ५ को कार्यालयबाट ज्येष्ठ नागरिकलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गराउनका लागि बजेट व्यवस्थापन गरी एउटा सराहनीय कार्यको थालनी भएकोे छ । पाथीभरा टोल सुधार संस्थाको अगुवाइमा निर्माण गरिएको ज्येष्ठ नागरिकको भवनमा हप्तामा दुई दिन ज्येष्ठ नागरिकको बीचमा सत्संङ्गका साथै अनुभव आदान–प्रदान निरन्तररुपमा हुँदैै आएको छ । संस्थाले ज्येष्ठ नागरिकप्रति देखाएको सद्भाव स्वरुप पाथीभरा टोल सुधार संस्थाको व्यवस्थापनमा ५ नम्बर वडा कार्यालय बिर्तामोडबाट ज्येष्ठ नागरिकलाई छोटो अवधी वा लघु भ्रमणमा सहभागी गराउने कार्यक्रम आफैमा एउटा महत्त्वपूर्ण र नमूना योग्य कार्य भएको महशुस भ्रमणमा संलग्न ज्येष्ठ नागरिकबाट व्यक्त विचारले पुष्टी गरेको थियो ।

कार्य योजना अनुरुप धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलका भ्रमण मिति २०८२ साल असार ९ गतेदेखि शुरु भएको थियो । यस भ्रमण दलमा बिर्तामोडस्थित ५ नं. वडाभित्र बसोबास गर्ने ६० वर्षभन्दा माथि ८५ वर्षसम्मका महिला र पुरुषकोे सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको यो ऐतिहासिक भ्रमणमा समावेशी प्रकृतिका दुई सय जनाभन्दा बढी ज्येष्ठ नागरिक सहभागी भएका थिए । यसमध्ये पहिलो दिन अर्थात् असार ९ गते बिहान ९ः०० बजे पाथीभरा टोलबाट यो यात्राको शुरुवात भएको थियो । दुईवटा बसमा एक सय जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई झापा जिल्लास्थित रहेका प्रशिद्ध धार्मिक, सांस्कृतिक तीर्थ स्थलका साथै पर्यटकीय स्थलका रुपमा परिचित सतासीधाम, धनुषकोटी र दोमुखा जस्ता ठाउँहरुमा भ्रमण गराइएको थियो ।

सतासीधाममा विशेषगरी गौ–पालन (गोमाता)को अवस्था र ५१ कुइन्टल रुद्राक्षको मालाबाट निर्माण गरिएको ज्योर्तिलिङ्गको समेत अवलोकन गरिएको थियो । त्यसैगरी धनुषकोटीमा शिवजीको प्रतिमाको अवलोकन गरिएको थियो । पर्यटकीय स्थलका रुपमा रहेको दोमुखामा रमणीय वस्तुहरुको दृष्यावलोकन गर्ने अवसर ज्येष्ठ नागरिकहरुले पाएका थिए । यस प्रकारको भ्रमणबाट लामो समयदेखि घरमै मात्र सिमित भइ निष्क्रिय जीवन बिताइरहेका ज्येष्ठ नागरिकका बीचमा आपसी चिनजान, अनुभव तथा विचार आदाप्रदान र भावनाहरु साटासाट गर्नका साथै विगतका दिनमा गरेका अनुभव र रमाइला क्षणबारेका कुराकानी समेत भएका थिए । कतिपय ज्येष्ठ नागरिक लामोसमयदेखि पहाड मधेश हुँदै भेटघाट पनि हराइ सम्झनामा मात्र रहेकाहरुका बीचमा भएको भेटघाटले भावविभोर समेत भएका थिए । यो भ्रमणमा सहभागी ज्येष्ठ नागरिकहरु सबै जात, धर्म वा सम्प्रदाय मान्ने व्यक्तिहरु समावेश भएका थिए ।

असार १० गते दोस्रो दिनको भ्रमण पनि पाथीभरा टोलबाट ९.०० बजे नै शुरु भएको थियो । एउटा बसमा ५० जनाभन्दा बढी ज्येष्ठ नागरिक सहभागी थिए । उक्त दिनको भ्रमण स्थल प्रशिद्ध आख्यान वा प्राचीन ध्रर्मग्रन्थका रुपमा परिचित ‘महाभारत’मा उल्लेखित घटनाका पात्रसँग जोडिएका ठाउँहरु मध्ये किच्चकबधका साथै कचनाकवल जो नेपालको सबैभन्दा होचो भागका रुपमा परिचित स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको थियो । सोही अनुरुप ज्येष्ठ नागरिकको भ्रमण टोलीप्रशिद्ध ऐतिहासिक स्थल किच्चकबध जहाँ नेपाल सरकारबाट प्राचीन वस्तुहरुको उत्खनन कार्य र त्यहाँ अवस्थित भिमसेनले किच्चकलाई बध गरेको मूर्ति समेत अवलोकन गरिएको थियो । यसैगरी किच्चकबधको तर्फबाट चर्चेको जग्गामा पक्की घेराबारा गरी त्यहाँभित्र सुन्दर स्वरुपका बगँैचाहरु निर्माण गर्नका साथै केटाकेटीहरुलाई खेल्न रमाइलो गर्नका लागि चिल्ड्रेन पार्क समेत रहेका पाइयो । यसपछि विश्वको सव्र्वोच्च शिखर समुन्द्र सतहबाट ८८४८ मिटर उचाइरहेको सागरमाथाको पहिचान बोकेका हामी नेपालकै सबैभन्दा होचो भू–भाग जो समुन्द्र सतहबाट केवबल ५५ मीटर उचाइमा रहेको छ, त्यही होचो भू–भागका रुपमा परिचित कचनकबलमा ज्येष्ठ नागरिकहरु भौतिकरुपमा उपस्थित भएर अवलोकन गर्न पाउँदा एउटा भिन्नै अनुभवका साथ रोमाञ्चित समेत भएका थिए । त्यहाँस्थित स्तम्भ लगायत यसले चर्चेको यरियालाई तार घेराबारा गरी सुरक्षित बनाउने कार्य भइरहेकोमा भावी दिनमा यो क्षेत्र पनि एउटा महत्त्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास हुने सम्भावना रहेको भ्रमण दलका सदस्यहरुले अनुभव गरेको थिए ।

कचनकबलपश्चात भद्रपुर नगरपालिकास्थित अति प्राचीन र सभ्यताको प्रारम्भदेखि नै हाम्रा अमूल्य सम्पदाको रुपमा मानिएको गुरुकुल शिक्षालाई निरन्तरता दिनेक्रममा स्थापना गरिएको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमको अवलोकन गरियो । समाजमा परिआउने देवकार्य, पितृकार्य, अन्त्यष्टी कार्यका सार्थै विविध कर्मकाण्ड समेत गर्नका लगि तयार गरिएका संरचनागत स्थलहरु मध्ये नवग्रह स्थल (सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु)सँग सम्बन्धित प्रतिमाहरुको अवलोकन गरियो । त्यसैगरी अष्ट चिरञ्जीवी स्थल (मार्कण्डय, वेदव्यास, परशुराम, अस्वत्थामा, कृपाचार्य, बलि, हनुमान, विभिषण) षष्ठिकादेवी लगायतका प्रतिमाको पनि अवलोकन गरिएको थियो । त्यसैगरी सानो चिटिक्क परेको सरस्वतीको मन्दिर, गौ–पालन, सभाहल, बटुकहरुको अध्ययन स्थल, पाकस्थल आदि जस्ता संरचनागत वस्तुको अवलोकन गर्ने अवसर पाइयो । यस गुरुकुलले छोटो अवधीमा गरेको कार्य प्रगतिका बारेमा जानकारी लिने सन्दर्भमा संस्कृत वाङमयको प्रचार–प्रसार र सम्बद्र्धन गर्दै अध्यात्म चिन्तनको मार्गदर्शनमा रहीरहेको अवस्थामा आगामी शैक्षिक वर्षदेखि भौतिक चिन्तनसँग सम्बन्धित प्रणालीको समेत प्रचार–प्रसार गर्न आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय समेत अध्यापन गराउने कार्यक्रम रहेको जानकारी पाइयो ।

यसपछि तेस्रो दिन अर्थात् असार १४ शनिबारका दिन भने इलाम जिल्लास्थित देवीदेवताका मन्दिरको दर्शन गर्दै पूर्वकै रमणीय स्थलका रुपमा परिचित कन्यामको स्थलगत भ्रमण गरियो । पहाड मधेशको संगमस्थलबाट नजिकै रहेको यस ठाउँले जो कोहीलाई लोभ्याउने नै भयो । हामी पनि नलोभिने कुरै भएन । तराइको गर्मिको अनुभव गरेका हामी कन्याम पुग्दै गर्दा प्रकृतिक दिएको एसी मै बसेको अनुभव ग¥यौं । एकातिर हरियाली चिया बगान अर्कातिर फाँटीला मैदानका साथै रोमाञ्चित बनाउने डाँडाकाँडा जहाँबाट तराइका फाँटिला मैदानी भू–भागको समेत अवलोकन गर्न पाइयो । हुस्सु लागेर कतै हाम्रो भ्रमणको उद्देश्यमा नै बाधा हुन्छ कि भन्ने लागेको थियो । तर, दिनले साथ दियो । शनिबारको दिन मानिसको घुइँचो पनि थियो । यसले पनि हामीलाई मनमोहक बनाएको थियो ।

लामो समयपछि पहाड चढेका ज्येष्ठ नागरिकहरु अब फेरि फिरेर यी र यस्तै रमाइला पहाडहरु घुम्न पाइन्छ वा पाइँदैन भन्ने एकातिर थियो भने आगामी वर्ष अलिक परको पहाड तर्फको पनि यात्रा बनाउनुपर्छ होला भन्ने सल्लाह दिइरहेको थिए । तीन दिनसम्मको यो यात्रामा आलोपालो गरी साथमै रहनुभएका वडाध्यक्ष, वडासदस्यहरु लगायत अन्य जनप्रतिनिधिहरुलाई ज्येष्ठ नागरिकको तर्फबाट धन्यवादका साथै पटक–पटक आभार पनि प्रकट गरिरहेका थिए । साथै यसप्रकारका भ्रमणलाई वडा कार्यालयले निरन्तरता दिनुपर्छ भनी विशेष अनुरोध पनि गरिएका थिए । जनप्रतिनिधिहरुले पनि बुढ्यौली उमेरमा पनि उत्साहपूर्वक अवलोकन तथा भ्रमण कार्यक्रममा उनीहरुको उपस्थिति, जोश र जाँगर देखेर यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिने कुरामा प्रतिबद्ध रहेको कुरा उक्त समयमा व्यक्त गरिएका थिए । ज्येष्ठ नागरिकहरुको बीचमा सामाजिक घुलमिल, दैनिक जीवनका क्रियाकलापको पुर्नताजगी साथै ऐतिहासिक र धार्मिक तिर्थस्थल जस्ता सामाजिक, सांस्कृतिक र पर्यटकीय स्थलको अवलोकन गराउने उद्देश्यका साथ थालनी गरिएको भ्रमण तथा अवोकन कार्यक्रमको अन्त्यतिर बुद्धशान्तिस्थित रहेको झोलुङ्गे पुलको अवलोकन गरी यो वर्षको यात्राको अन्त्य समेत गरिएको थियो ।

त्यसैगरी ज्येष्ठ नागरिकहरु यस भ्रमणबाट अत्यन्तै खुशी र सन्तुष्ट देखिए । धेरैजसो सहभागीहरुले यसप्रकारको भ्रमणमा पहिलो पटक समूहगत रुपमा सहभागी भई ऐतिहासिक स्थलको अवलोकन गर्न पाएको प्रतिक्रिया दिएका थिए । साथै यसप्रकारको अवसर जुटाइ दिने वडा कार्यालयका सम्बन्धित जनप्रतिनिधिप्रति आभार प्रकट गर्दे राम्रो व्यवस्थापन गरी भ्रमणको व्यवस्था मिलाइदिएकोमा पाथीभरा टोल सुधार संस्थासँग आवद्ध पदाधिकारी तथा सदस्यहरलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । ज्येष्ठ नागरिकले गरेका प्रमुख अनुभवहरुमा यसप्रकार भ्रमणले निष्क्रिय जीवनलाई सक्रिय बनाउन सकिने रहेछ । धार्मिक तथा ऐतिहासिक पक्षको ज्ञानमा बृद्धि हुने रहेछ । साथै व्यवहारिक पक्षमै पनि छुट्टै आनन्द हुने रहेछ । लामो समयपछि शारीरिक चलायमानका कारणले मानसिक रुपमा स्वतः स्फूर्ति आउनका साथै स्वास्थ्यलाभ समेत प्राप्त गर्न सकिने रहेछ भन्ने समेत अनुभव भएको थियो । त्यसैगरी भ्रमणका क्रममा केही चुनौतीको सामना पनि गरिएको थियो । लामो यात्राका कारणले केही सहभागीहरुलाई थकानको महशुुस भएको थियो । तराइका भ्रमणका क्रममा एकातिर पानी परेर केही बाधा उत्पन्न भएको थियो भने अर्कातर्फ गर्मीको कारणले असहज पनि भएको थियो । तर पनि गाडीमा एसी जडान गरिएकाले गाडी सञ्चालनका समयमा भने राहत महशुस गरिएको थियो ।

अन्त्यमा आगामी दिनमा पनि यसप्रकारका भ्रमणले निरन्तरता पाउने अपेक्षाका साथ भ्रमणका क्रममा निम्न सुझाव समेत प्रस्तुत गरिएका थिए । सामान्यतयाः आधारभूतरुपका औषधीको व्यवस्था गरिएको भएतापनि ज्येष्ठ नागरिकहरुमा एक्कासी स्वस्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुन सक्ने भएकाले एकजना चिकित्सक वा स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्नेरहेछ । त्यसैगरी भ्रमण गरिने समय र स्थान मौसम अनुसार छनोट गर्नुपर्ने रहेछ । त्यसैगरी बसेको व्यवस्था गर्दा आरामदायी बसलाई निरन्तरता दिनुपर्ने आदि जस्ता मुख्य सुझाव ज्येष्ठ नगरिकबाट आएका थिए । त्यसैगरी पाथीभरा टोलसुधार संस्थाले भ्रमणको व्यवस्थापन गरेको हुनाले भ्रमणको पूर्ण विवरणसहितको प्रतिवेदन तयार गरी संस्थाको सम्पत्तिका रुपमा वा ऐतिहासिक दस्तावेजका रुपमा अभिलेखीकरण गर्न समेत सुझाव भ्रमण टोलीबाट आएको थियो । खाना तथा खाजाका साथै फलपूmलको समेत व्यवस्था गरी भ्रमण सम्पन्न गर्न भूमिका निभाउनु भइ कार्यसम्पन्न गर्नुहुने बिर्तामोड नगरपालिका वडा नं. ५ का जनप्रतिनिधिका साथै पाथीभरा टोल सुधार संस्थाप्रति पुनः आभार व्यक्त गर्दै धन्यवाद समेत ज्ञापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here