आज श्रावण महिनाको शुल्कपक्ष पञ्चमी तिथि । यस दिनलाई नाग पञ्चमी पनि भनिन्छ । वैदिक हिन्दू सनातन धर्म अनुसार आज नागको विशेष पूजा गर्दै घरको मूल ढोका वा खम्बामा नागको तस्विर गाईको गोबरले टाँसेर नाग पञ्चमी पर्व मनाइन्छ । आजको दिन घर–घरमा यसरी नागको पूजा गर्नाले नाग, सर्प, बिच्छी लगायतका विषालु जीवबाट सुरक्षित हुइन्छ, आगलागी र चट्याङबाट जोगिन सकिन्छ भन्ने धार्मिक मान्यता रहेको छ । त्यही मान्यता अनुसार देशका विभिन्न ठाउँमा रहेका मठमन्दिरमा समेत आज पूजाआजा गर्नेहरुको घुइँचो रहन्छ ।

नागलाई जलका देवता भनिन्छ । नाग रिसाए पानी नपर्ने, पानीको मुहान सुक्ने र पानीको हाहाकार हुने सनातनी धर्मको मान्यता छ । त्यही मान्यता अनुरुप नागलाई प्रशन्न तुल्याउन हरेक वर्ष आजको तिथिमा नागको विशेष पूजाआजा गर्ने शास्त्रीय परम्परा रहेको छ । त्यही मान्यता र विशवासका आधारमा नाग पञ्चमीका दिन नागहरुको बासस्थल भूमिमा खनजोत गर्नुहुँदैन भन्ने मान्यता रहेको छ । प्रत्येक घरको जगमा नागको बास हुन्छ भन्ने विश्वासका साथ नाग रिसाए घरको जग हल्लिने र लड्ने भन्दै विशेष पूजाको परम्परा चलेको जनविश्वास छ ।
यही दिनबाट वर्षा सकिएर हिउँद शुरु भएको मानिन्छ । नाग पञ्चमी पर्वबाट हिन्दू धर्मावलम्वीहरुको विभिन्न चाडपर्वहरुको प्रारम्भ हुने मान्यता छ । त्यसैले नाग पञ्चमी पर्वलाई चाड बोलाउने पर्वका रुपमा समेत लिइन्छ । काठमाडौंस्थित नाग मन्दिरहरु घोडेनाग, जलनाग, टेकुनाग, हरिनाग, मीननाग लगायतका विभिन्न ठाउँमा रहेका तलाउ र मन्दिरहरुमा आज दर्शनार्थीहरुको भीड रहन्छ । वैदिक मान्यता अनुसार नाग सर्पहरुका राजा हुन्, नाग रिसाए पानी नपर्ने वा अग्नि, मेघ र चट्याङको भय हुने विश्वास अनुसार दूध र लाजा चढाएर नागको पूजा गर्ने प्रचलन आज पनि निरन्तर छ ।
जल देवताका रुपमा मानेका नागको आसन गरेर बसेका गुरु गोरखनाथको क्रोध साम्य पार्न भारतको आसाममा रहेका मत्छ्येन्द्रनाथलाई नेपाल ल्याइएको प्रसंग छ । उनी आउनासाथ रिसाएका गोरखनाथ आसनबाट उठ्नासाथ नागहरु फुक्का भएको र पानी परेको किंवदन्ती छ । त्यही किंवदन्ती अनुसार नेपाल बसेका मच्छिद्रनाथको भोटो देखाउने जात्रा आज पनि धुमधामसँग मनाइन्छ । अहिले त्यही कथा जोडिने गरी पानी नपरेर मधेश प्रदेशमा धान रोपाइँ भएको छैन । स्थानीयलाई पिउने पानीकै हाहाकार भएको छ । कुनै सिद्धयोगीले नागको आसन गरेको विवरण त छैन, तर समयमा पानी नपर्दा खाद्यसंकट निम्तिने भय भने बलियो भएको छ । यस्तो बेलामा शुरु भएको यो हिउँद अनिष्टकारी नहोस्, राज्य सञ्चालकहरुले चिन्तन गरुन् । विशिष्ट संस्कृति र परम्पराभित्रको एउटा नाग पञ्चमी पर्वले अन्य पर्वहरुलाई स्वागत गर्ने परम्परालाई अक्षुण्ण राखोस् शुभकामना ।




























