संयुक्त राष्ट्र संघले हरेक वर्ष जुलाई ३० का दिन मानव बेचबिखनबिरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ । मानव बेचबखिन सम्बन्धी अपराधको बारेमा सचेतना फैलाउने उद्देश्यले मनाउन थालिएको यो दिवसको सन्देश आममानिसमा पु¥याउन जरुरी छ । किनकि आजको आधुनिक युगमा पनि मानव बेचबिखन जस्तो घृणित कार्य भइरहेको छ, जुन सभ्य र आधुनिक भनिने समाजका लागि कलंक हो । विश्वका संगठीत अपराधहरु मध्ये दोस्रो ठूलो अपराधका रुपमा रहेको मानव बेचबिखनको विश्वव्यापी सञ्जाल तोड्न पनि यस सम्बन्धी सचेतना प्रवाह गर्न यो दिवसले सरोकारवालालाई खबरदारी गर्दछ ।

एउटा मानवले अर्को मानवलाई उसको गरिबी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै दास बनाउन प्रेरीत गर्नु वा झुठा सपना देखाएर गलत कार्यमा लगाउनु गम्भीर अपराध हो । यस्तो अपराधको चपेटामा महिला र बालबालिका मात्र होइन पुरुषहरु पनि पर्ने गरेका छन् । यस्तो अवैध र अमानवीय कार्यका लागि विचौलियाको प्रयोग गरिन्छ, जसमा सभ्य, सम्पन्न र जिम्मेवार पदमा रहेकाहरुको पनि संलग्नता रहने गरेका उदारहण छन् । विचौलियाकै माध्यमबाट अनुचित श्रम तथा यौनशोषण जस्ता कार्यमा जबर्जस्ती संलग्न गराइन्छ । महिला, बालबालिकालाई देहव्यापारमा लगाउने, यौनदासी बनाउने, मनोरञ्जनको व्यवसायमा लगाउने परम्परागत तरिकाभन्दा भिन्न ढंगबाट आज पनि मानव बेचबिखनका घटनाहरु गराइएका छन् ।
विश्वव्यापी समस्याका रुपमा रहेको मानव बेचबिखन सम्बन्धी अपराध नियन्त्रण गर्न सरकारहरु असफल छन् । व्यक्तिको इच्छा विपरीत धम्की दिएर, दवाव वा प्रलोभनमा पारेर हुने गरेका यस्ता अपराधको संगठीत जालो तोड्नु आजको आश्यकता हो । यसकै लागि नेपालमा पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानून लागू गरेको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा पीडकहरु उम्किने पीडितले न्याय नपाउने अवस्था छ । अझ हामीकहाँ जनताको प्रतिनिधि भनिएका सरकारमा बस्नेहरु नै यस्तो अपराधमा आरोपित भइरहन्छन् । त्यसैले यस्तो जघन्य अपराध रोक्न नागरिक तहबाटै जागरणको खाँचो छ । समाजलाई सचेत बनाउँदै नागरिक तहबाटै खबरदारी गर्नुपर्छ । यस्तो संगठीत अपराधबिरुद्ध सशक्त बन्नुपर्छ । अनि मात्र यो समस्याबाट मुक्ति पाइन्छ ।



























