भिजिट भिसाका नाममा मानव बेचबिखन बढ्दो: काँकरभिट्टाबाट दिल्ली हुँदै कुवेत पठाउने गिरोह सक्रिय

0
71

झापा ।

बैदेशिक रोजगारीका नाममा ठगी धन्धा बढिरहेका बेला पछिल्लो समय भिजिट भिसाका नाममा भारतको दिल्ली हुँदै कुवेत पठाउने गिरोह सक्रिय भएको पाइएको छ ।

भिजिट भिसामा कुवेत हिँडेका ४७ जना महिलाहरू साउन ८ मा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टबाट फर्काइएपछि गिरोहले संगठित रुपमै यस्तो काम गरिरहेको पुष्टि भएको हो । बिचौलियाहरूले काँकरभिट्टा, रुपेडिया र सुनौली हुँदै महिलाहरूलाई दिल्लीमा लगेर एक ठाउँमा जम्मा गर्ने गरेका थिए । काठमाडौँबाट पठाउने र दिल्लीमा भेला गरेर विमानस्थलसम्म लैजाने समूहको बीचमा कनेक्सन देखिएको अनुसन्धानमा संलग्न व्यूरोका एक जना अधिकृतले बताए । गिरोहले गैरकानूनी रुपमा नेपाली युवालाई कुवेत लाने गरेको पाइएको छ ।

नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरूलाई कुवेत पठाउन लागिएको थियो । दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई नेपाल फिर्ता पठाएको हो । दिल्ली हुँदै कुवेत पठाउने समूहले एनओसी (नो अब्जेक्सन सर्टिफिकेट), पुलिस रिपोर्ट र भिसा पनि फर्जी बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । नेपाल सरकारले कुवेतमा महिलाहरूलाई वर्किङ भिसामा जाने अनुमति दिँदैन । तर, सो समूहले वर्किङ भिसा लगाएर त्यसलाई स्क्यान गरेर फर्जी भिजिट भिसामा रूपान्तरण गर्ने गरेको भेटिएको छ ।

भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियारले गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । अख्तियारका अधिकृतहरूले भट्टराईबाट एउटा डायरी जफत गरेका छन् । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जेठ ७ देखि उनी अनुसन्धानको दायरामा छन् ।

दिल्लीबाट फिर्ता भएकाहरूको सूचनाको आधारमा मानव बेचबिखन ब्युरोले उनीहरूलाई पठाउने गिरोहबारे अनुसन्धान शुरु गरेको छ । दिल्लीबाट फर्काइएका १९ जनाले सो गिरोहबारे जाहेरी दिएका छन् । काठमाडौँ विमानस्थलबाट भिजिट भिसामा कडाइ गरिएपछि दिल्ली हुँदै कुवेतमा पठाउने गिरोह सक्रिय भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको व्यूरोका एसएसपी कृष्ण पङ्गेनीले बताए ।

दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्केका छन् । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर (एसएसपी) प्रकाश मल्ल नेतृत्वको टिमले उनीहरूलाई रुपन्देहीसम्म ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएको थियो । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘केही पीडितहरूलाई माइती नेपालले संरक्षण र परामर्श प्रदान गरिरहेको छ ।’

गृहमन्त्री रमेश लेखकले ती महिलाहरूलाई दिल्लीसम्म लैजाने गिरोहबारे अनुसन्धान गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका थिए । त्यसपछि ब्युरोले जाहेरी लिएर अनुसन्धान अघि बढाएको हो ।
यसैबीच वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका–६ बस्ने सोलुखुम्बू थुलुङ दूधकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय नवीन खड्का र सर्लाही विष्णु गाउँपालिका–७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् ।

पक्राउमध्ये सुजनले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ८ लाख ५० हजार रूपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै एक जनाबाट ९० हजार रूपैयाँ, नवीनले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रूपैयाँ र राजले कुबेत पठाइदिन्छु भन्दै एक जनाबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुजनलाई काठमाडौं महानगरपालिका–३बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका–३२ बाट सोमबार तथा नवीनलाई काठमाडौं–९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here