कात्तिक १५ गतेदेखि दोस्रो पथरी शनिश्चरे गोल्डकप

0
115

पथरी शनिश्चरे ।

पथरी ११ फुटबल क्लबले वार्षिक आर्थिक विवरण सार्वजनिक गर्दै दोस्रो पथरी शनिश्चरे गोल्डकप २०८२ को औपचारिक घोषणा गरेको छ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबको पथरी स्थित शिखर चोकको प्रधान कार्यालयमा सोको जानकारी दिएको हो । क्लबका अध्यक्ष सुमन बिकले पत्रकार सम्मेलनमार्फत क्लबको पहिलो गोल्ड कपबाक क्लबको कूल आम्दानी १७ लाख ८५ हजार ८ सय ४० र कुल खर्च १४ लाख ८१ हजार १ सय ५५ भएको जानकारी दिँदै क्लबको वित्तीय स्थिति प्रस्तुत गर्नुभएको थियो। साथै, दोस्रो पथरी शनिश्चरे गोल्डकप यही कात्तिक १५ गते शनिबारदेखि सुरु भई २२ गतेसम्म सञ्चालन हुने जानकारी समेत गराउनु भयो।

गोल्डकपमा प्रथम पुरस्कार ५ लाख र दोस्रो पुरस्कार २ लाख ५० हजार सहित विजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै, विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी तथा मेडल प्रदान गरिने छ भने हरेक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

उक्त गोल्डकप प्रतियोगिताको आय–व्यय अनुमानित ६० लाख रुपैयाँ रहने उल्लेख छ। जसका लागि क्लबले पथरी शनिश्चरे नगरपालिकासँग १५ लाख सहयोगको अपेक्षा राखेको छ भने मुख्य प्रायोजक, सहप्रायोजक प्रायोजक, निजी विद्यालय, व्यापारी र शुभेच्छुकहरूबाट रु ४५ लाख संकलन गर्ने लक्ष्य लिएको छ।

कार्यक्रमको सुरुवातमा क्लबका सदस्य तथा कोच अर्जुन बस्नेत र प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप संयोजक जितन राईले स्वागत मन्तव्य राखेका थिए भने पथरी शनिश्चरे नगरपालिकाका खेलकुद संयोजक दिपक राईले खेलको महत्त्वबारे शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रत्येक खेल गोल नेपाल डटकमको फेसबुक र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछ भने स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण हुनेछन् । कार्यक्रममा क्लबका कोषाध्यक्ष अम्बिका लिम्बु, सचिव केशर राईसहित अन्य पदाधिकारीहरू, खेलाडीहरू, नगरपालिकाका सूचना संयोजक सन्तोष राई तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव केशव राईले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here