भद्रपुर ।

भद्रपुरमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा संगठनको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपाल निजामती कर्मचारी संगठनका झापा अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा तथा कोशी प्रदेश सांसद छविलाल चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व प्रदेश सांसद वसन्तकुमार बानियाँ, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष देवराज कार्की, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवम् राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगठनका उपाध्यक्ष चिरण खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगठनका कोषाध्यक्ष मनोज भट्टराईले गरेका थिए । त्यसैगरी स्व. प्रमोद तामाङ स्मृति अक्षयकोषबाट वितरण गरिने सुशासन पत्रकारिता पुरस्कार पत्रकार उमाकान्त खनाल र उत्कृष्ट राष्ट्रसेवक पुरस्कारका लागि इलाका वन कार्यालय सुरुङ्गा कर्मचारी देवका गौतम र अर्जुनधारा नगरपालिकाका कर्मचारी कमल पौडेललाई प्रदान गरिने भएको छ ।






























