झापा, रुखमा बाँधेर राखेको एक व्यक्तिको मृत्यु भएपछि चार जना व्यक्ति झापाको झापा गाउँपालिकाबाट पक्राउ परेका छन् ।
प्रहरीका अनुसार झापा गाउँपालिका १ लसुना निवासी ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । बाधेर राखेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोरेनको मृत्यु पछि घटनामा संलग्न भएको भन्दै झापा गाउँपालिका १ लसुना निवासी मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही ठाउँ बस्ने ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू, २१ वर्षीय लखिराम टुडूलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।
अन्य फरार व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।






























