प्याप्सन झापामा गहिरिँदो आन्तरिक मतभेद : संस्थापन र इतर धारबीचको दूरी बढ्दो

0
383

विनोद सापकोटा,
झापा, झापामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याप्सनको आन्तरिक कलह सतहमा आएको छ ।
विशेषतः १४औं जिल्ला अधिवेशनपछि संगठनभित्र मतभेद चुलिएको प्रष्ट देखिन थालेको छ । निर्वाचनको परिणामपछि नेतृत्व पंक्तिमा आएका र पराजित बनेका समूहबीच गहिरो असमझदारी कायम रहँदा संगठनको समग्र एकता र कार्यसम्पादनमा असर परेको देखिन्छ ।


प्याप्सन झापाको नेतृत्वका लागि सम्पन्न अधिवेशनमा अध्यक्ष पदमा छत्र कार्की १७६ मत प्राप्त गर्दै निर्वाचित भएका थिए भने प्रतिस्पर्धी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए । निर्वाचनपछि नयाँ कार्यसमिति गठन भएसँगै जिल्लास्तरीय गतिविधिहरू अगाडि बढ्ने अपेक्षा यसका सदस्य विद्यालयले गरेका थिए । तर त्यसको सट्टा पराजित समूहलाई बेवास्ता गरिएको आरोपसँगै संगठनमा समानान्तर गतिविधिहरू सुरु भएको दमक नगरका पूर्व अध्यक्ष जनार्दन मैनालीले बताए ।
पराजित भनिएको पक्षले झापा क्लस्टर प्याप्सन को ब्यानरमा विभिन्न पालिका र जिल्लास्तरीय कार्यक्रमहरू सञ्चालन गर्न थालेको छ । यी कार्यक्रमहरूमा जिल्ला कार्यसमितिका पदाधिकारीहरूलाई पटकपटक निमन्त्रणा गरिए तापनि, उनीहरू अनुपस्थित रहँदै आएका छन् । यसप्रकारको व्यवहारले आन्तरिक संवादको आवश्यकता झनै बढाएको दमक प्याव्सनका पूर्व अध्यक्ष मैनालीले बताए ।

झापाको शिवसताक्षीस्थित वाटर किङ्डम पार्कमा बुधबार आयोजित सामाजिक सुरक्षा कोष, कर तथा आन्तरिक लेखा व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा १५३ संस्थापक प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो । ३०९ सदस्य विद्यालयमध्ये ४९।५१ प्रतिशतको यो सहभागिता आफैँमा महत्त्वपूर्ण बन्यो । विशेषतः यो कार्यक्रम संस्थागत हैसियतभन्दा पनि विषयवस्तुमाथि केन्द्रित भएर आयोजना गरिएको देखियो ।

कार्यक्रमको अध्यक्षता जनार्दन ढकालले गरे । उनले आयोजकको पहिचानभन्दा विषय र उद्देश्यमा ध्यान केन्द्रित गर्न आग्रह गरे । यसले स्पष्ट संकेत के गरेको छ भने उनीहरूको समूह आयोजनाको औपचारिकता भन्दा पनि शैक्षिक सुधार र सहभागितालाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । ढकाल पक्षका अर्का प्रतिनिधि जनार्दन मैनालीले शिक्षक सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले संगठनको समावेशीपनमा प्रश्न उठाएका छन् ।

प्याप्सन झापाका अध्यक्ष छत्र कार्कीले भने आफूसँग चुनाव हारेका साथीहरूलाई प्राज्ञिक सल्लाहकारका रूपमा समेट्ने प्रयास गरिएको दाबी गरेका छन् । साथै, उनले स्थानीय सरकारसँग समन्वय गर्दै विभिन्न पालिकामा कार्यक्रमको बजेट सुनिश्चित गर्न सफल भएको उल्लेख गरेका छन् । कार्कीका अनुसार, मेचीनगर, बिर्तामोड, कन्काई, बुद्धशान्ति, बारदशी र झापा गाउँपालिकाले कार्यक्रम दिएर त्यसका लागि बजेट सुरक्षित गरेको छ ।

संगठनको ऐतिहासिक पृष्ठभूमि हेर्दा, झापामा सन् १९९२ वि सं  २०४८ माघ मा प्याप्सनको प्रारम्भिक संरचना बनेको थियो। त्यसयता, संगठनले ३४ वर्ष लामो यात्रा तय गरिसकेको छ । तर यसबीचमा यसरी स्पष्ट रूपमा संस्थापन र इतर समुह बीचको विभाजन देखिनु आश्चर्यको विषय बनेको यसका जानकारले बताए ।

यो विभाजनको रूपमा भन्दा पनि बहस, बहुविकल्प र कार्यशैलीको फरकका रूपमा लिने हो भने संगठनभित्रको लोकतान्त्रिक अभ्यासको परिपक्वता पनि देखिन्छ । तर यस्तो फरक धार एकअर्काको अस्तित्व स्वीकार नगर्ने स्थितिमा पुगेमा संगठनले गहिरो संकट भोग्न सक्ने शिक्षा विज्ञहरूको चेतावनी छ ।

झापामा दुई संस्थागत संगठन क्रियाशील छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याप्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याप्सन यिनको अतिरिक्त हाल झापा क्लस्टर प्याप्सन नामक समूह सक्रिय देखिन थालेको छ । जसलाई कतिपयले संस्थापन इतरको रूपमा व्याख्या गरेका छन् । यद्यपि यसको औपचारिक रूपमा वैधानिक स्थिति पुष्टि भइसकेको छैन ।

शिक्षा क्षेत्रको संवेदनशीलतालाई ध्यान दिँदा, यस्तो आन्तरिक मतभेद विद्यार्थी, शिक्षक र अभिभावक सबैको हित विपरीत हुने जोखिम पनि रहन्छ । नेतृत्वको असहमतिले संस्थाको गति रोक्नु हुँदैन भन्ने सन्देश जनार्दन ढकाल समूहले दिन खोजेको देखिन्छ । उनीहरूको क्रियाशीलता, विषयवस्तुमा केन्द्रित कार्यक्रमहरू, र सहभागितामूलक शैलीले संगठनभित्रको वैकल्पिक अभ्यासको प्रारम्भ भएको संकेत दिइरहेको छ ।

प्याप्सन झापा भित्रको यो परिस्थितिलाई विवाद होइन, सुधारको अवसरको रूपमा लिन सकिने अवस्था अझै बाँकी छ । तर त्यसका लागि दुवै पक्ष संवाद, सहकार्य र पारदर्शी नेतृत्वमा अग्रसर हुनुपर्ने आवश्यकता छ । अन्यथा, संगठनको मूल उद्देश्यभन्दा पर व्यक्तिगत गुटबन्दी र पदकेन्द्रित अभ्यासले शिक्षाको मूल मर्म नै ओझेलमा पर्ने सम्भावना प्रबल रहन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here