नेपाली महिलाको महत्वपूर्ण पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली महिलाहरुले मनाउने हरितालिका पर्व अर्थात् तीजको पहिलो दिन चेलीहरुलाई माइतमा ल्याएर विशेष सात्विक भोजन गराइन्छ, जसलाई दर र दर खुवाउने परम्परा रहेको छ । । दर खाएको दोस्रो दिन निराहार अर्थात् केही नखाइकन व्रत बस्ने परम्परा अनुसार अघिल्लो दिन चेलीबेटीलाई मेवामिष्ठान्न खुवाउने चलन छ । दर खाने दिन भनिने आज खासगरी विवाहित चेलीबेटीलाई घरबाट ल्याएका माइतीले दिदीबहिनीलाई प्रेम र श्रद्धापूर्वक सकेको मीठोमसिनो खुवाउने नेपाली परम्परागत संस्कृति रहेको छ । शास्त्रीय विधान अनुसार रातिको दुई भाग रहँदै दर खाइसक्नुपर्छ ।

दर खाएको भोलिपल्ट निराहार व्रत बसेका दिदीबहिनीहरु घरमा आफूले भोगेका दुःखपीडा गफ वा गीत र नृत्यको माध्यमबाट साथीसंगीसँग व्यक्त गर्छन् । यसले वर्षदिनभरी मनमा गुम्सिएर बसेको पीर र कष्ट बाहिर आइ मन–हलुङ्गो हुने जनविश्वास छ । दर खाने दिनबाट शुरु भएको तीज ऋषि पञ्चमीसम्म मनाइन्छ । महिलाले मात्र मनाउने तीजका लागि उत्साहपूर्वक प्रतीक्षा गरिएको हुन्छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले शिवलाई पति पाउँ भनी कठोर तपस्या गरेको पौराणिक कथा छ । आफ्ना पिताले छोरीको विवाह विष्णुसँग गरिदिन खोजेपछि साथीहरुको सहयोगमा निर्जन स्थानमा निराहार ब्रत बसेर शिव अर्थात् भगवान महादेवलाई पार्वतीले पतिका रुपमा प्राप्त गरेको सन्दर्भलाई तीजसँग जोडिएको छ ।
पार्वतीलाई साथीहरुद्वारा हरण भएको दिन भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथि रहकोले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन शुरु भएको धार्मिक मान्यता छ । यसदिन देशभरका शिवालयहरुमा व्रतालु महिलाको भीड लाग्ने गरेको छ । दिनभर निराहार व्रत बसेका महिलाहरु भगवान महादेवको विशेष पूजाआजा गरी नाचगान गरेर कर्मघरमा भोगेका र आफ्नो जीवनका दुःख–पीरहरु मेटाउने प्रयास गर्छन् । तीज पर्व ऋषि पञ्चमीका दिन पवित्र नदी, तलाउ र पोखरीमा विशेष स्नानादि कर्म गरेपछि समापन हुन्छ । दर खाएर शुरु भएको तीज दोस्रो दिन व्रत, तेस्रो दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहितका सप्तऋषिको पूजा गरेपछि समाप्त हुन्छ ।
पछिल्ला वर्षहरुमा तीजका नाममा विकृतिहरु बढ्दै गएको छ । तीज शुरु हुनु महिना अघिदेखि दरखाने, पोशाक र गहना प्रदर्शन गर्ने जस्ता गतिविधि बढेको छ । यसले तीजको मौलिक संस्कृति, परम्परा र महत्वलाई ओझेलमा मात्र पारेको छैन, वर्गभेदको खाडल गहिरो बनाउँदै लगेको छ । यस्ता विकृतिजन्य गतिविधिलाई समयछँदै रोक्नुपर्नेमा संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् । हुँदा–हुँदा गाउँ–टोल मात्र होइन सरकारी कार्यालयहरुमा समेत सार्वजनिक रुपमै तामझामका साथ तीज मनाउन थालिएको छ । तीज नितान्त व्यक्तिगत तथा पारिवारिक र महिलाहरुको मात्र पर्व भएकाले शास्त्रीय परम्परा कायम राख्न समाजका अगुवाले समेत भूमिका निर्वाह गर्नुपर्छ ।




























