अनुगमनलाई तीब्र बनाऊ

0
71

वैदेशिक रोजगारीका नाममा ठगी बढेको गुनासो बढ्दै गएपछि राजधानी काठमाडौं लगायत जिल्लाहरुमा पनि प्रशासनले चासो देखाएको छ । शैक्षिक परामर्शका भन्दै खुलेका कन्सलटेन्सीहरुले विदेश पठाउने नाममा अवैध काम गरेको गुनासाका आधारमा वैदेशिक रोजगार विभागले काठमाडौंका केही कन्सलटेन्सीहरुमा छापा मारेको थियो । त्यसक्रममा ती कन्सलटेन्सीहरुले युरोप लगायत विभिन्न देशमा पठाउने भनी रकम उठाएको आरोप लागेको थियो । विभागले गरेको अनुगमन तथा छापाका क्रममा तिनीहरुले विदेश पठाउने अनुमति नै नलिएको पाइएको थियो । त्यस बाहेक पनि पीडितको उजुरीका आधारमा अन्य केही कन्सलटेन्सीका सञ्चालकहरु फरार रहेका विवरण सार्वजनिक भएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउन विभागबाट अनुमति लिनु पर्दछ । यस व्यवस्था अनुसार देशमा आठ सयभन्दा बढी म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागबाट अनुमति लिएका छन् । त्यसबाहेक कुनै पनि नाममा विदेशमा कामदार पठाउने अधिकार कानूनतः कसैलाई छैन । तर, कतिपय दर्ता नभएका म्यानपावर, ट्राभलएजेन्सी, ब्युटीपार्लर र शैक्षिक परामर्शका लागि स्वीकृति लिएका कन्सलटेन्सीहरुले समेत आकर्षक पारिश्रमिकको प्रलोभनमा पारी राहदानी संकलन गर्ने र पैसा उठाउने गरेको पाइनुले देशमा रोजगारको अवस्थालाई देखाउँछ । अझ सरकारमै सहभागी उच्च पदधारी व्यक्ति नै यस्तो कार्यमा संलग्न भएको आरोप लाग्नु झनै पीडादायी अवस्था हो ।

वैदेशिक रोजगार व्यवसायी संघ झापाले सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै अवैध निकायबाट ठगी बढेको गुनासो गरेका छन् । संघको प्रतिनिधि मण्डलले प्रजिअ गोपालप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्ता संस्थाहरुको अनुगमन नियमन र नियन्त्रण गर्न माग गरे । उनीहरुले केही कन्सलटेन्सी, ब्युटीपार्लर र ट्राभलएजेन्सीहरु पनि अनियमित ढंगले वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न भएको प्रजिअलाई जानकारी गराए । अवैध संस्था र व्यक्तिहरुबाट अत्यधिक ठगी भइरहेको संघद्वारा प्रस्तुत, ज्ञापनपत्रमा उल्लेख छ । स्वदेशमा रोजगार नपाएका युवालाई रोक्नेतर्फ सरकारको ध्यान नजाँदा बाध्यतापूर्वक विदेशिनेहरुको पीडा झनै बढेको छ । यस्तोमा स्थानीय तहदेखि विभाग र सरकारको समेत ध्यान जानुपर्छ । अन्यथा नेपाली युवाको ठगिने क्रम नियन्त्रण गर्न सकिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here