
बेलायतदेखि व्यापारीक उद्देश्यसँग दक्षिणपूर्वी एसिया आएको ‘इष्टइण्डिया कम्पनी’ले पारङ्गत युद्ध कुशलता र आफ्नो चातुर्यताको कारण हजारौंं स–साना राज्यहरु आफ्नोे अधीनस्थ ल्यायो । त्यसपछि दवाब स्वरुप नेपालको स्यूराज र बुटवलको दाबी प्रस्तुत ग¥यो, दाबी युद्धमा परिणत ग¥यो । जाल, झेल, षड्यन्त्र सबै उपाय प्रयोग गरी युद्धमा हराएर पुर्खाले आर्जन गरेको नेपालको एकतिहाई भू–भाग ‘चालिस हजार वर्गमाइल’ जमिन हड्प्यो । जसको पूर्वमा मेची नदी सुन्दरताले ओतप्रोत पर्यटकीय स्थलसहित टिष्टा नदीसम्मका सम्पूर्ण भू–भाग र पश्चिममा माहाकाली नदी पारीका धार्मिक र मनै लोभ्याउने सुन्दरताले ओतप्रोत पर्यटकीय स्थलसहित कांगडासम्मका सम्पूर्ण भू–भाग पर्दथे ।
इष्टइण्डिया कम्पनीले एकतर्फी जबरजस्ती ढङ्गबाट हस्ताक्षर गर्न बाध्य गराएको सुगौली सन्धिको धारा ५ ले ‘नेपालका राजा र उनका उत्तराधिकारीहरुले कालीदेखि पश्चिमका प्रदेश र त्यहाँका निवासीहरुसित भविष्यमा पनि कुनै सम्बन्ध राख्न पाउने छैनन्’ –भनेर नेपाललाई महाकाली पश्चिमका आफ्ना प्रिय जनतासँग सम्बन्ध राख्न समेत बन्देज लगाएको छ । सन्धिका समयदेखि नै इमान्दार र अनुशासित नेपालले आफ्ना तर्फबाट मित्रताको अबमूल्यन हुन दिएको छैन ।
२६ सेप्टेम्बर १७४४ मा नुवाकोट बिजय गरेसँगै थालनी भएको नेपालको एकीकरण अभियान नेपालको इतिहाँसका शीर्षस्थपुरुष पृथ्वीनारायण शाहले वि.सं.१८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि बुहारी रानी राजेन्द्रलक्ष्मी र कान्छो छोरा बहादुर शाहले अगाडी बढाइरहे । यिनका पनाती राजा गिर्वाणयुद्धविक्रम शाहका पालामा ७२ वर्षसम्म निरन्तर चलेको एकीकरण अभियान यस ‘सुगौली सन्धि’ पछि पूर्णरुपमा रोकियो । इष्टइण्डिया कम्पनीको उपनिवेशबाट पूर्णरुपमा स्वतन्त्र भइसकेपछिको इण्डिया सरकारले उक्त दस्तावेज र अभिलेखहरु हेर्नुपर्छ, अध्ययन गर्नुपर्छ, बुझ्ने कोशिस गर्नुपर्छ, नहेरे वा हेर्ने कोशिस नगरे हामीले देखाउन सक्नुपर्छ ।
१ फेब्रुअरी १८२७ मा प्रकाशित एक इञ्च बराबर चार माइलको ‘गढवाल–कुमाउ’ नामक नक्सामा उद्गम स्थल लिम्पियाधुरा भएको नदीलाई नै ‘कालीनदी’ भनिएको छ । पछि प्रकाशन गरेका नक्साहरुमा पनि कालीनदीको मुहान लिम्पियाधुरा नै हो भनी नदी पूर्वका कुटी, नावी, गुञ्जी, कालापानी, नाभिडाङ, लिपुलेक आदि नेपालभित्रका नै हुन् भनी उल्लेख गरिएको पाइन्छ । भएका तथ्य–प्रमाणहरु संकलन गर्ने हो भने नेपाललाई दावी प्रस्तुतिमा कठिनाइ छैन ।
इण्डियाले पछि प्रकाशित नक्सामा काली नदीलाई यथास्थानमै देखाए पनि नदीको नाम लेखिएको देखिँदैन, बरु सानो खोल्सीलाई कार्टाग्राफिक चिन्हद्वारा सिमाना नदी भनेर पूरा कालापानी क्षेत्र भारततर्फ देखाउन प्रयास गरेको देखिन्छ । इण्डियाले अहिले नयाँ नक्सा बनाएर जताततै फिजाउनको पछाडि चीन प्रवेशका लागि योे छोटो मार्ग भएकाले पनि हो । लिपुलेकमार्ग आफूलाई प्राप्त गराउन सके, आफ्नो अनेकौं कच्चापदार्थ र औद्योगिक सामग्रीहरु सस्तो ढुवानीमा चीनको बजारमा पु¥याउन र ल्याउन सजिलो हुने भएकाले हो ।
बेलाबखत यस विषयलाई उचालेर विवाद मच्चाउँदै गरे, यसैका कारणबाट लिपुलेक मार्ग प्राप्त हुनसक्ने आधार बनाउन भारतले कुरा बढ्दै जाओस् भन्ने अभिप्रायले स्वार्थवश नयाँ नक्सा प्रकाशित गरेको हुन सक्छ । सुगौली सन्धिका बखत नेपालको ठूलो हिस्सा हडपेर बानी बिग्रेको इण्डियालाई यसबाट अझ तीन सय ७२ वर्ग किलोमिटर भू–भाग फाइदा हुने देखिन्छ । तर, कल्पना सहज भने हुँदैन, किनकि यो बिषय प्रमुख मुद्दा बनेर नेपालमा जनस्तरबाट कडारुपमा नाराजुलुससहित जताततै बिरोध हुन थालेको छ ।
तात्कालीन इष्टइण्डिया कम्पनीसँग युद्ध सामग्री हातहतियार र सेनाको जत्था ठूलो हुँदा पनि युद्धका बखत धेरैपटक घेराउमा परेको र होस गुमाएको थियो । केही प्राविधिक त्रुटीका कारण युद्ध नेपालले हा¥यो, तर नेपालीको शान र इज्जत भने कम भएको ठानिन्थ्यो । सुगौली सन्धि भएको निकैपछि एक महत्वपूर्ण कार्यक्रममा ब्रिटिश इष्टइण्डिया कम्पनीका गभर्नर जनरल लर्ड डलहौजीले भनेका थिए– ‘नेपाल भारतीय राज्यको तुलनामा एक पूर्ण स्वतन्त्र विदेशी राज्य हो, जो न हाम्रो त्चष्दगतबचथ हो, न कुनै रुपले हाम्रो क्गद(यचमष्लबतभ हो ।’
नेपाल–भारत धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट नजिक मुलुक भएकाले यसको महत्वलाई जोगाउनु आवश्यक छ । जसका निम्ति भारतले सोच्न जरुरी छ कि ! पौराणिक कालदेखिको हाम्रो आपसी मित्रता साथै स्वतन्त्रता संग्रामहरुमा नेपालीहरुले देखाएको त्याग, योगदान र सहादतपूर्ण बलिदानीका बारेमा । पुनः वर्तमान बिशाल इण्डिया निर्माणमा तत्कालीन इष्ट–इण्डिया कम्पनीको देन रहेको विषयलाई र नेपाल–इष्टइण्डिया कम्पनीबीचको सुगौली सन्धिभित्रका भावना समेतलाई सम्मान हुने वातावरण निर्माण गराउँदै अलिकति पनि खलबलिन नदिन हालै प्रकाशन गरेको नयाँ नक्सा संशोधन गरी अनावश्यक विवादहरु पन्छाएर अघि बढ्नु पर्छ । गलत सल्लाहको भरमा परेर विविध असमझदारीका कारण २०७२ को भारतीय–नाकाबन्दीको असरले पारेको खाडल जस्तो नेपाल–भारत सम्बन्धको उचाईलाई फेरि बेहाल र विध्वंशतिर धकेलीन दिनुहुँदैन ।
सन्धिमा उल्लेख गरिएका बुँदाहरु प्रति आफ्नो मन बाँधेर अडिग भएर बसेको नेपालले महाकाली पश्चिम हेर्ने मनसाय कहिल्यै बनाएन । छिमेकी मित्र राष्ट्रले पनि यसलाई डराएर हो भनी उचालिएर बरालिन खोजिनु हुँदैन, कतै यी लफडाहरुबाट नेपालको अडान धर्मरिन गयो भने त्यो अनिष्टको दोष इण्डियालाई नै पर्न जानेछ । किनकि सन् १९०५ मा बिशालकाय सोभियत रुस र सानो मुलुक जापानबीच भएको युद्धमा रुसले नराम्रोसँग पराजय व्यहोर्नुपरेको थियो, यो दृष्टान्त भुल्न हुँदैन । यसरी दुई छिमेकी र अशल मित्रराष्ट्र नेपाल र भारत बीचको आपसी सम्बन्ध, अपनत्व र भाइचारालाई निरन्तर सुदृढ र स्थायी गराउन आपसी वार्ता, विश्वास र समझदारीलाई सधैँ कहीँकतै अल्मलिन नदिई प्रगाढ र विश्वस्त बनाउनुपर्छ, यसैमा हामी सबैको भलाइ छ ।


























