छविराज ढकाल
कानेपोखरी,
मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ र ३ का अति विपन्न,भूमिहीन तथा सुकुम्बासी नागरिकहरूलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।
आज शनिबार कानेपोखरी गाउँपालिकाद्वारा आयोजित एक समारोहका बीच कुल ४१ वटा सुरक्षित आवास निर्माण गरी अति विपन्न तथा गरिब नागरिकहरूलाई हस्तान्तरण गरिएको हो।
कानेपोखरी गाउँपालिका वडा नं. ३ कोल टोलमा ३० वटा र वडा नं. १ को झर्नाघुट्टुमा ११ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको थियो । बाँसलाई वैज्ञानिक तवरले प्रशोधन गरी सिमेन्ट र वालुवाको प्रयोग गरि किचन र शौचालय सहित भूकम्प प्रतिरोधी दुई कोठे पक्की आवास निर्माण गरिएको सहारा नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भेटवालले जानकारी दिनुभयो।

घर हस्तान्तरण समारोहका प्रमुख अतिथि सार्वजनिक लेखा समितिका सभापति तथा मोरङ निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले संविधानको भावना र मर्म अनुरूप नै कानेपोखरी गाउँपालिकाले अघिल्ला वर्षहरूझैं यस वर्ष पनि सहारा नेपाल र हेवीटेण्ट नेपालको साझेदारीमा विपन्न, भूमिहीन तथा सुकुम्बासीहरूका लागि सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गर्दै आइरहेकोमा प्रशंसा गर्नुभयो।
उहाँले नेपाल सरकार तथा सङ्घीय संसदीय कोषबाट विपन्नलाई सुरक्षित आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिन सक्दो पहल गर्ने वचन दिनुभयो । उहाँले कानेपोखरी पालिकाका विभिन्न विकास आयोजना, डांस खोला तथा तटबन्धको लागि सक्दो प्रयास गर्ने वचन दिनुभयो। सोहि समारोहमा कोशी प्रदेश सांसद लीला वल्लभ अधिकारीले आफू बाल्यकालमा जन्मिएको यो उक्त क्षेत्रमा मुख्य रूपमा तटबन्धको टड्कारो आवश्यकता रहेको भन्दै कानेपोखरी गाउँ पालिकामा
विकास निर्माण , सडक विस्तार , बिजुली, खानेपानी तथा अन्य थुप्रै समस्याहरू रहेकाले समाधानका लागि आवश्यक पहल गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो।

सोहि क्रममा समारोहकी अध्यक्ष तथा कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले आफ्नो पालिकामा विपन्न वर्गकाहरूका लागि निर्माण गरिएका आवासहरूलाई सुरक्षित तुल्याउन गाउँपालिका एक्लैले मात्र सम्भव नभएको र सोका लागि प्रदेश तथा संघीय सांसद ऋषिकेश पोखरेल र लिला वल्लव अधिकारीलाई संघीय र प्रदेश सरकार समक्ष पूर्वको डाँसखोला र पश्चिमको चिसाङ खोलाको बाढीले वर्षेनी दुःख दिने गरेकोले तटबन्धनको टड्कारो आवश्यकता रहेको र सो लागि पहल गरिदिन अनुरोध गर्नुभयो।
कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सांसद लिलाबल्लव अधिकारी , गाउँपालिकाका उपाध्यक्ष उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव,साहारा नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भेटवाल, हेबीटेण्ट नेपालका प्रबन्धक विजय गुप्ता , वडा अध्यक्षहरु क्रमश: चरण गुरुङ, रत्नबहादुर कार्की, रमेश राउत, गोपाल बहादुर कार्की, कार्यपालिका सदस्य शुशिला श्रेष्ठ, वडा सदस्यहरु, विभिन्न राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् सर्वसाधारणको पनि उपस्थिति थियो । कार्यक्रमको संञ्चालन प्रशासन शाखा प्रमुख मचिन्द्र थलङले गर्नुभएको थियो।






























