जेनेरेसन–जेड अर्थात् जेन–जी भनिने युवापुस्ताको राजधानी केन्द्रित आन्दोलनले इतिहास रचेको छ । युवाहरु कुनै पनि राष्ट्रका अजेय शक्ति हुन् र सृजनाका मूल हुन् भन्ने भदौ २३ गते भएको युवाहरुको विद्रोहले पुष्टि पनि गरेको छ । देशमा हुर्किएको भ्रष्टाचार असमानता र वेथितिको प्रतिवाद गर्दै आएको सो पुस्ता राज्यले सामाजिक सञ्जाल नै बन्द गरेपछि सडक संघर्षमै उत्रियो । जसको परिणाममा देशका कायम रहेको नेतातन्त्र र उनीहरुको दम्भ र अहंकारलाई धुलोपिठो पा¥यो । अति छोटो तर अभूतपूर्व संघर्षको परिणाम चारदशकभन्दा बढी समयदेखि उही नेतृत्व र उही विकृति र विसंगतिलाई संस्थागत गर्दै भ्रष्टाचार र कुशासनको पृष्ठपोषण गरिरह्यो ।

आम जनता नेतातन्त्रको रापबाट पिल्सिएका थिए तर त्यसको प्रतिवाद गर्ने सकिरहेको थिएनन् । विगतमा श्रीलंका, बंगलादेश लगायतका देशमा उनीहरुकै समूहको नेतृत्वमा भएको विद्रोहले सत्ता परिवर्तन गरेको थियो भने कुनैमा सरकारको निरंकुशता र स्वेच्छाचारी निर्णयलाई असफल बनाएको थियो । त्यही रापतापमा हामी कहाँ दुई दिनको संघर्षले केपी ओलीलाई प्रधानमन्त्री पद त्याग्न बाध्य गरायो । एक दिनअघि सम्म युवापुस्तामाथि व्यंग्य र कटाक्ष गर्ने प्रम ओली दुई दिनमै राजीनामा दिन बाध्य भए । यसले नेपाललाई आशा, सम्भावना र विश्वासको नयाँ युगमा प्रवेश गराएको छ ।
राजनीतिक अस्थिरता, भ्रष्टाचार बढ्दो वेथिति, वेरोजगारी, महंगी लगायतका कारणले राजनीतिक प्रणालीप्रति नै वितृष्णा हुर्कायो । जसका कारण युवा पुस्ता अवसरको खोजीमा विदेशिन बाध्य भए । राजनीतिक व्यक्तिका छोराछोरीको जीवनशैली, विलाशी भोगाइले युवाहरुमा विद्रोह जन्मायो । जसलाई सामाजिक सञ्जालका माध्यमबाट अभिव्यक्त गर्दैथिए । त्यही अभिव्यक्तिलाई राज्य सत्ताले सहन सकेन र विभिन्न २६ वटा एप्समा प्रतिबन्ध लगायो । यसलाई जेन–जी पुस्ताको आक्रोशमा घ्यू थप्ने काम ग¥यो । यद्यपि युवाहरुको शान्त, निहत्था र भद्र प्रदर्शन थियो । तर, राज्यले त्यसदिनलाई इतिहासकै कलंकीत र रक्तरञ्जीत दिन बनायो । यो जसले प्रतिबन्ध मात्र खोलेन प्रधानमन्त्रीको दम्भ र अहंकार पनि टुट्यो ।
युवा पुस्ताको यो विद्रोह दमन गर्न सरकारले कठोर बल प्रयोग ग¥यो । स–साना किशोर–किशोरी र युवाहरुको प्रदर्शन रोक्न प्रहरीले चलाएको गोली लागेर एकैदिन १९ जनाले शहादत प्राप्त गरे । घाइतेमध्ये ३२ जनाको पनि उपचारका क्रममा निधन भएको छ भने सयौं घाइते छन् । यस्तो अकल्पनीय परिस्थितिमा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले प्रधानमन्त्रीको पद र जिम्मेवारी वहन गरेकी छन् । राजनीतिले थुपारेको फोहरलाई बढार्ने र युवाहरुको भावनालाई समेत समेटेर आर्थिक विकासमा देशलाई डोहो¥याउने चुनौति उनका सामु छ । साढे तीन दशकदेखि सत्ताको वरिपरि घुमेका दलहरुबाट हुन सक्ने बाधा–विरोधको सामना गर्दै सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र जनताको जीवनस्तर सहज बनाउने चुनौतिको पूर्णता उनको निष्ठा, दृढता र संकल्पले पूरा होस्–शुभकामना ।




























