झापा ।

जेन–जी पुस्ताको आन्दोलनमा अराजक समूह प्रवेश गरी हिंसात्मक प्रदर्शन गर्दै प्रहरी कार्यालयहरूलाई पहिलो निशाना बनाएको थियो ।
सो समूहले गरेको आगजनी र तोडफोडका कारण झापा जिल्लामा २३ वटा प्रहरी कार्यालयमा क्षति भएको छ । ११ वटामा पूर्ण र १२ वटा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए ।
जिल्लामा ७३ वटा प्रहरी युनिट र १५ वटा ट्राफिक प्रहरी गरी ८८ वटा युनिट रहेको छ । त्यसमध्ये आगजनीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय दमक, इलाका प्रहरी कार्यालय सुरुङ्गा, वडा प्रहरी कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथ्वीनगर, प्रहरी चौकी ज्यामिरढी, अस्थायी पोष्ट बसपार्क, प्रहरी चौकी बिर्ताबजार, मेची पुल प्रहरी बिट भद्रपुर र पुरानो ट्राफिक प्रहरी कार्यालय भवन पूर्ण क्षति भएको छ ।
त्यस्तै तोडफोडबाट इलाका प्रहरी कार्यालय बुधबारे, प्रहरी चौकी बाघखोर, इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी केर्खा, अस्थायी प्रहरी चौकी गरामनी, प्रहरी चौकी तोपगाछी, प्रहरी चौकी शनिश्चरे, इलाका प्रहरी कार्यालय बनियानी, प्रहरी चौकी चारआली र अस्थायी प्रहरी पोस्ट इँटाभट्टामा आंशिक क्षति पुगेको एसपी लिम्बूले जानकारी दिए । चोक–चोकमा राखिएका प्रहरीका बिटहरुमा पनि आगजनी र तोडफोड गरिएको छ ।
भदौ २४ गतेको प्रदर्शनले पूर्ण रुपमा क्षति भएका प्रहरी कार्यालय खाली छन् । त्यहाँ खटाइएका प्रहरी कर्मचारीहरूलाई नजिकै रहेको प्रहरी कार्यालयहरूमा मर्ज गरी राखेका छौँ । क्षति भएका प्रहरी युनिटहरूको मुचुल्का उठाउने काम भइरहेको छ– एसपी लिम्बूले भने– ‘क्षति भएका भवनहरूमा प्रहरी कर्मचारी गएर बस्ने अवस्था नै छैन, पुनर्निर्माण भएपछि मात्र बस्न सक्छन् ।’ विशेष गरी दमक, बिर्तामोड लगायत शहरी क्षेत्रहरूमा प्रहरी युनिट स्थापनाका लागि वैकल्पिक भवनको खोजी भइरहेको उनले बताए ।
प्रहरी कार्यालयहरूमा कति भौतिक क्षति भयो त्यो अहिले नै भन्न सकिने अवस्था छैन । विशेषगरी बिर्तामोड, दमक, भद्रपुर लगायत क्षेत्रहरूमा प्रहरी कार्यालय झापा वा नजिकै पायक पर्ने युनिटहरूबाट प्रहरी टोलीले नियमित गस्ती गरिरहेको उनको भनाइ छ । जिल्लाका १९ वटा युनिटहरूमा प्रहरी कर्मचारीहरूको सुरक्षालाई मध्यनजर गरी क्षति भएका वा नभएका युनिटहरूलाई हाल मर्ज गरी राखिएको जनाइएको छ ।
सशस्त्रको हातहतियार र गाडीमा क्षति
जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले झापामा सशस्त्र प्रहरीमाथि आक्रमण नगरेको पाइएको छ ।
प्रदर्शनकारीहरूले सशस्त्र प्रहरी बल नेपाल, बेलडाँगी बेस क्याम्पमा रहेका हातहतियार लुटेर आंशिक क्षति गरेका छन् । त्यस्तै सशस्त्रको बीओपी पृथ्वीनगरमा रहेका दुई गाडीमा आगजनी भएको छ ।
सशस्त्रको भौतिक संरचनाहरूमा भने आगजनी नभएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका प्रवक्ता तथा डीएसपी सुमन पोखरेलले जानकारी दिए । बेलडाँगीबाट लुटिएका हातहतियार फेला परिसकेको बताउँदै प्रवक्ता पोखरेलले भने– ‘प्रदर्शनकारीहरूले पृथ्वीनगरमा लिलामका लागि राखिएको एउटा बोलेरो गाडी र मोटरसाइकल जलाइदिए ।’
सुरक्षाको दृष्टिकोणले तीन वटा बेस क्याम्पलाई हाल मर्ज गरिएको छ । खुदुनावारी बेस क्याम्प, टिमाई बेस क्याम्प र गोलधाप बेस क्याम्पलाई मर्ज गरिएको हो । खुदुनावारी र टिमाईलाई शनिश्चरे बेस क्याम्पमा मर्ज गरिएको छ । त्यस्तै गोलधापलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापामा मर्ज गरिएको उनले बताए । जनशक्तिलाई एकत्रित पार्न मर्ज गरिए पनि ती बेस क्याम्पहरु खाली नगरिएको र केही दिनमै पुनस्र्थापित गरिने उनको भनाइ छ ।
झापाका १२ पालिका खरानी
जेन–जी पुस्ताको हिंसात्मक आन्दोलनले झापामा ठूलो भौतिक क्षति भएको छ । भदौ २४ गते आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले जिल्लाका १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरी अरबौँको क्षति पु¥याएको छ । आगजनीले क्षति पुगेका स्थानीय तह र वडा कार्यालयहरू सहज रुपमा पुनः कसरी सञ्चालनमा ल्याउने भनी जिल्लाका पालिका (प्रमुख तथा उपप्रमुख), (अध्यक्ष तथा उपाध्यक्ष)हरुले एउटा साझा धारणा सार्वजनिक गरेका छन् ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको अध्यक्षतामा आइतबार बसेको बैठकमा सहभागीहरुले साझा धारणा सार्वजनिक गर्दै भदौ २४ गतेका दिन देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा युवा विद्यार्थी र राष्ट्रसेवक प्रहरी कर्मचारीको ज्यान गएको थियो । यस दुःखद् घटनाप्रति हामी झापा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू शोक व्यक्त गर्दछौ ।
मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ । मृतकका परिवार र घाइतेहरूलाई उचित क्षतिपूर्ति, राहत र उपचारको व्यवस्थाका लागि राज्यसँग जोडदार माग गर्दछौ । घुसपैठ भई गोली चलेको घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरी निष्पक्ष छानबिनका लागी छानबिन आयोग गठन गर्न माग गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै तोडफोड र आगजनी भएका पालिकाहरूमा ५ दिनभित्र प्रहरी मुचुल्का तयार गर्ने, शान्ति सुरक्षा सुनिश्चित गर्दै सेवा पुनः सञ्चालन गर्ने, स्थलगत मुचुल्का तयार भएपछि पालिका सञ्चालन गर्ने, सार्वजनिक, निजी र संस्थागत विद्यालयहरू सञ्चालनमा ल्याउने, आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको (फोटो र भिडियो) प्रहरी, प्रशासनलाई उपलब्ध गराउने तथा लुटपाट, आगजनी र तोडफोड गर्न भड्काउने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्ने निर्णय भएको जनाइएको छ ।
यता साझा धारणा सार्वजनिक पश्चात् कतिपय पालिकाहरूले मंगलवार आ–आफ्नो पालिकामा बैठक बसी विभिन्न निर्णय गर्दै कामकाज अघि बढाइसकेका छन् । जिल्लाका १५ पालिकामध्ये आगजनी हुनबाट हल्दिबारी गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका मात्रै जोगिएको छ । अरू सबै पालिका कामै नलाग्ने गरी जलेर खरानी बनेका छन् ।
धरानमा घटनामा संलग्नबिरुद्ध प्रहरीमा जाहेरी
धरान उपमहानगरपालिकामा यही गत २४ गते जेन–जी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न भएको आरोपमा १२ जनाभन्दा बढीबिरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।
धरानका पूर्वमेयर मनोज मेन्याङ्बोले धरान–८मा सञ्चालन गर्दै आएको कञ्चनजंघा होटलमा आगजनी, तोडफोड तथा नगद लुटपाटमा संलग्न भएकाहरु बिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता गरिएको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगूका अनुसार घटनास्थलमा खिचिएका तस्वीर तथा भिडियो प्रमाणका आधारमा संलग्नको पहिचान गरिएको हो । जाहेरीमा धरानका बिमल शाक्य, मिलन बान्तवा राई, दीपचन्द्र राई (कान्छी) लगायत १२ जनाभन्दा बढीको नाममा उजुरी परेको छ ।
पूर्वमेयर मेन्याङ्बोका अनुसार होटलमा पुनः तोडफोड गरी आगजनी गरिएको थियो । रु. ६ लाख नगद समेत लुटेर लगिएकोे उनले बताए । डीएसपी जबेगूका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने आवश्यक अनुसन्धानपछि कानूनी कारवाही प्रक्रिया अघि बढाइनेछ ।
उक्त दिन धरानमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, धरानका पूर्वउपमेयर मञ्जु भण्डारी, प्रदेशसभा सदस्य जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, कांग्रेस नेता उमेश थापा र सुजेन्द्र तामाङलगायतका घरहरूमा समेत आगजनी र तोडफोड गरिएको थियो ।





























