छ महिनामा अर्थात् फागुन २१ गते निर्वाचन सम्पन्न गरेर शासकीय सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री सुशीला कार्कीको पहिलो मार्गचित्र हो । प्रधानमन्त्री बने लगत्तै छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने आफूलाई प्राप्त कार्यदेश रहेको भन्दै प्रम कार्कीले सरकारी तथा निजी क्षेत्रमा भएका क्षतिको छानबिन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुका परिवारलाई न्याय दिने बताएकी छन् । राजनीतिका माध्यमबाट देशमा हुर्किएको बेथिति, भ्रष्टाचार र नातावादको जालोका बिरुद्ध आमजनमानस आक्रोशित थियो । तर, त्यो आक्रोश जेन जी भनिने युवापुस्ताहरुबाट मुखरित हुन पुग्यो । जसको परिणाममा वर्षाैंदेखि ‘जुका’ जस्तै टाँसिएर बसेका ठूला दल र तिनका नेतृत्व केही घन्टामै सत्ताच्यूत हुन पुगे ।

पछिल्लो समय युवापुस्तालाई राजनीतिक सोच नभएको, प्रविधि र आधुनिकतामा रमाउने र त्यसमै हराउने समूहका रुपमा लिइन्थ्यो । उनीहरुमा बिद्रोहको चेत थोरै मात्र हुन्छ भन्ने धारणा थियो । तर, त्यही पुस्ता यतिसम्म बिद्रोही हुन सक्छन् भन्ने कसैले खासगरी सत्तासीन दलका शीर्ष नेतृत्व र नेताहरुले सम्भवतः अनुमान पनि गरेका थिएनन् । युवा पुस्ताको आक्रोश, असन्तुष्टि सडकमा मात्र होइन देशको प्रमुख प्रशासकीय भवनका अघि यसरी प्रकट भयो कि सरकारले अनाहकमा वर्षाएको तातो गोली उनीहरुकै लागि प्रत्युत्पादक मात्र होइन विनाशको कारण बन्न पुग्यो । यस्तो समय राष्ट्रपति रामचन्द्र पौडेलका अघि आन्दोलनकारीको माग सम्बोधन गर्नुको विकल्प थिएन । त्यसैले आन्दोलनका अघि थिति होइन संविधान नै पन्छाएर प्राप्त उपलब्धी रक्षा गर्न नयाँ घोषणा गर्नु बाध्यता बन्न पुग्यो ।
त्यही घोषणा र नवनिर्वाचित प्रधानमन्त्रीको राष्ट्रलाई निकाश दिँदै युवाहरुका मागलाई सम्बोधन गर्ने उपयुक्त बाटो अबको देशको गन्तव्य हो । होनाहार युवाले ज्यानको आहुति दिएर प्राप्त गरेको यो उपलब्धीलाई स्वच्छ छवि बनाएका प्रधानमन्त्रीको टिमले जसरी पनि निर्धारित अवधिमा पूरा गर्नैपर्छ । सरकारको मूल दायित्व भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिलाउनु हो । त्यसपछि शान्तिपूर्ण, निष्पक्ष र धाँकलीरहित निर्वाचन सम्पन्न गरेर जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । यसका लागि विपतमा सेनाको पोल्टामा लुकेका नेताहरुले वर्तमान सरकारसँग पौंठेजोरी होइन हातेमालो गर्ने हिम्मत देखाउनु पर्दछ । आपत–विपतमा वेद पढिन्न भने जस्तै विकल्पहीन अवस्थालाई सामान्य बनाएको यो समयलाई जनचाहना र भावना अनुरुप बनाउनुपर्छ । आन्दोलनमा घटित घटनाको दोषीलाई पहिचान गरी कानूनको परिधिमा ल्याएर पीडितलाई न्याय दिनुपर्छ । आमजनताले पनि विवेकहीन नेतृत्वलाई पछ्याएर फेरि पनि विसंगतिको यात्रा रोज्नु हुँदैन । त्यसो भएमात्र युवापुस्ताको बलिदान र रगतको सम्मान हुनेछ र देशको भविष्य पनि सुनिश्चित हुनेछ ।




























