मोक्तानको रेडचरी कृषि फार्म

0
69

भुवन तामाङ,

आफै नै अवसर सिर्जना गर्ने जेन जी उमेरका उद्यमी हुन् जो मोक्तान । बुद्धशान्ति वडा नं. २ गलान गाउँमा उनको सानो कृषि फार्म छ । आईस् वर्षिय मोक्तानले आफ्नो फार्मको नाम रेडचरी कृषि फार्म राखेका छन् ।

मोक्तानको फार्ममा बाख्रा, कुखुरा, हाँस, बट्टाई र माछापालन गरिएका छन् । भाले बट्टाईको छातीमा रातो प्वाँख हुन्छन् । त्यही रातो रङ्गबाट आफ्नो फार्मको नाममा रेड (रातो) शब्द राखेको बताउँछन् मोक्तान । बट्टाई चरा जातको भएकाले फार्मको नाममा चरी शब्द पनि परेको बताउँछन् ।

उनले कृषि फार्म सञ्चालन गरेको तीन वर्ष नाघेको छ । मोक्तानले बट्टाईको अण्डाबाट चल्लाहरु काड्न एक लाख रुपैयाँमा ह्याचिङ्ग अर्थात् चल्ला कोरल्ने विद्युतीय मेसिन ल्याएका छन् । मेसिनले दिनमा तीन सयसम्म चल्ला काड्न सक्छ । उनको फार्ममा दुईसय पचासभन्दा बढी बट्टाई छन् र दुई हजार वटा पु¥याउने उनको योजना रहेको छ ।

बट्टाईबाट अण्डा र चल्ला उत्पादन गरेर बेच्छन् । बढेका बट्टाई मासुका लागि पनि होटलहरुमा बेच्छन् । चार तलासम्मका खोर बनाएर बट्टाई पालेका छन् । कुखुरा र बाख्राका लागि पनि बाँस र काठका खोर बनाएका छन् ।

कुखुरा भालेपोथी गरी एक सयभन्दा बढी छन् । कुखुराहरु मासु र अण्डाका लागि बेच्न पालेका हुन् । चल्लाहरु पनि बिक्री हुन्छन् । यसका साथै बाख्राहरु पनि पालेका छन् मोक्तानले । मासुका लागि खसी बोका र पाठापाठी जन्माउन माउ बाख्रा पालेका छन् । यतिमात्र होइन उनले फार्ममा माछा पालनका लागि सानो पोखरी पनि बनाएका छन् । माछा बेचेर त्यसबाट पनि केही आम्दानी गर्ने गरेका छन् ।

पशुपंक्षी बाहेक फार्ममा अग्र्यानिक तरकारी पनि लगाएका छन् । तरकारीहरुमा खुर्सानी, करेला, लौका, भिन्डी, बैगुन, बोडी, फर्सी उब्जाइएका छन् । तरकारी घरमा उपभोग गर्न र बेच्नका लागि लगाएका छन् । तरकारीका बेर्ना र बिरुवाहरु पनि बेच्दछन् । केरा पनि पाकेपछि बारीबाटै बेच्दछन् । सुपारी भने फल्न अझै केही वर्ष लाग्ने बताउँछन् मोक्तान । मोक्तानले दुई का क्षेत्रफलको चिटिक्क परेको आफ्नो सानो फार्मको घेराबारा बाँसको टाटी र ग्रीन नेटले गरेका छन् । आफ्नो केही पैसा, घरपरिवार र साथीभाइसँग सरसापट लिएर साढे तीनलाख रुपैँयाबाट शुरु गरेको उनको फार्ममा अहिले छ देखि सात लाखसम्मको संशाधन रहेको बताउँछन् मोक्तान ।

उसो त जो मोक्तान प्रतिभाशाली छन् । उनी गीत–संगीतका कलाकार पनि हुन् । उनको सुमधुर स्वर र संगीतमा सजिएको तिमीलाई जन्मदिनको शुभकामना र यो बाटो नहिँडेर के गरुँ बोलका गीतहरु युटुवमा प्रशारण भइरहेका छन् । फार्ममा संगीतका लागि साउण्ड सिस्टमसहित बाजागाजा पनि राखेका छन् । उनी फार्ममै सुत्छन् । बट्टाई, कुखुरा, बाख्राहरुका आवाजलाई उनी संगीतकै अंग मान्दछन् । उनलाई यिनीहरुका आवाज साह्रै मन पर्दछ । संगीतका धुनहरुले मानिसलाई मात्र होइन तरकारी तथा पशुपंक्षीमा पनि सकारात्मक उर्जा पुग्ने बताउँछन् मोक्तान । फार्ममै साथीहरुसँग बाजा बजाएर गीतहरु गाउने र संगीत भर्ने गर्दछन् ।

जो मोक्तानले कृषि सम्बन्धी तालिम भने झापा प्राबिधिक शिक्षालयबाट रोङ गाउँपालिकाको किटेनीमा संचालित तालिमबाट पाएका थिए । फार्मबाट धेरै नाफा नभएपनि गुजारा चलिरहेको बताउँछन् । आम्दानीले वित्तीय संस्थाको किस्ता, व्याज तिर्दै सरसापट गरेको पैसा फर्काउँदै र घर खर्चका लागि आमा बाबुलाई पनि दिने गर्दछन् । राम्रो नाफा लिन अझै केही वर्ष लाग्ने बताउने उद्यमी मोक्तान कृषि फार्म चलाएकामा आफू सन्तुष्ट रहेको बताउँछन् ।

जो मोक्तान विदेशी मोह त्यागी स्वदेशमा स्थानीय स्तरमै आफ्नै घरमा स्वरोजगार बनेका युवा हुन् । विदेश गएर दुःख पाउनुभन्दा आफ्नै देश, आफ्नै गाउँठाउँमा केही गर्नु नै सुरक्षित हुने विचार व्यक्त गर्दछन् । उनको उद्यम अरु युवाका लागि स्वावलम्वी बन्ने प्रेरणा बनेको छ । उनको सानो फार्म हेर्न युवाहरु र प्रौढहरु समेत आउने गर्दछन् र फार्ममा जे उपलब्ध छन् उपभोगका लागि किनेर लाने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here