च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

0
70

झापा,

विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बन्नुभएको छ । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ ।

खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलोपटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ । उद्योगबाट वार्षिक ४५ हजार किलो च्याउको बीउ उत्पादन गर्दै आएको छ । यसबाट रु एक करोड ५० लाखभन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताउनुभयो ।

उद्योगमा सात जनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन् । आफूसहित तीन कामदार आफ्नै घरका सदस्य रहेको उहाँले बताउनुभयो । उद्योगबाट घर बाहिरका चार कामदारले पूर्णकालीन रोजगारी पाएका छन् ।

“च्याउखेतीमा थोरै लगानी र मिहेनत गर्दा मनग्य आयआर्जन गर्न सकिने भएकाले अहिले यसतर्फ किसानको आकर्षण बढेको छ”, खत्री भन्नुहुन्छ, “रोग नलाग्ने र स्वस्थबद्र्धक च्याउ उत्पादन हुने भएकाले बीउका लागि टिस्युकल्चर प्रविधि प्रयोग गरिरहेका छौँ ।”

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न खत्रीले आधुनिक प्रयोगशाला स्थापना गर्नुभएको छ । यो कोशी प्रदेशकै पहिलो हो । उहाँले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट च्याउको बीउ उमारिन्छ ।

भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चर प्रविधिबारे तालिमप्राप्त गरेपछि आफैँले प्रदेशमा पहिलोपल्ट च्याउको बीउ उत्पादन गरेको खत्रीले बताउनुभयो । यसका लागि गहुँलगायतका दाना स्वदेशकै प्रयोग भए पनि रासायनिक तत्व भने भारतबाटै ल्याउने गरिएको उहाँको भनाइ छ ।

“हाम्रो उद्योगमा दैनिक एक सय ५० किलो गहुँबाट एक हजार ५०० प्याकेट च्याउको बीउ उत्पादन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “प्रतिप्याकेट बीउ रु ३५ मा बजारमा बिक्री हुन्छ ।” उद्योगले च्याउखेती गरिरहेका र नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई प्राविधिक परामर्श तथा कच्चा पदार्थसमेत उपलब्ध गराउँदै आएको छ । उद्योगबाट उत्पादित बीउले माग धान्न नसकिरहेको खत्रीले बताउनुभयो ।

झापामा खत्रीले टिस्युकल्चर प्रविधि भित्राएपछि हाल जिल्लाभर उहाँको जस्तै च्याउको बीउ उत्पादन गर्ने १३ उद्योग स्थापना भइसकेका छन् । पाथिभरा च्याउ तथा बीउ उद्योगद्वारा उत्पादित च्याउको बीउ झापासहित इलाम, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म बिक्री हुने गरेको छ ।

एकपटक च्याउखेतीमा गरेको लगानीले लामो अवधिसम्म उत्पादन दिइरहने, श्रमिक कम लाग्ने र सामान्य प्राविधिक ज्ञानले हुने भएकाले पछिल्लो समय च्याउखेतीतर्फ किसानको आकर्षण बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here