बिर्तामोड।

जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–४ को अध्यक्षमा पुनः हिमालयप्रकाश कन्दङ्वा चयन भएका छन् ।
संस्थाको ११औं वार्षिक साधारण सभाले कन्दङ्वाको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्ष विष्णुप्रसाद योङहाङ, सचिव मणिराज दङ्गाल र सदस्यहरू शंकरप्रसाद सेढाइ, भूमादेवि घिमिरे, टंकीनाथ योङहाङ, दीपा भण्डारी रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामचन्द्र घिमिरे र सदस्यहरूमा गणेशबहादुर लिङ्दम र जमुना बस्नेत रहेका छन् ।
झापा जिल्ला सहकारी संघका सचिव तथा हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाल संयोजक र मनोहरी निरौला, मनकुमार योङ्या सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णुप्रसाद योङहाङले स्वागत गरेका थिए ।
कार्यक्रममा अध्यक्ष कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य पाँच हजार आठ सय चार जना, शेयर पूँजी दुई करोड ९० लाख ६२ हजार तीन सय रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा उत्कृष्ट ऋण असुली गर्ने कर्मचारी मिना राई, उत्कृष्ट बचत वृद्धि गर्ने कर्मचारी सितादेबी खत्री, उत्कृष्ट कर्मचारी साधना जवेगू, उत्कृष्ट सेवाकेन्द्र प्रमुख कौशीला थपलिया, र बर्ष उत्कृष्ट सेवाकेन्द्र सुरूङ्गा सेवाकेन्द्रलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका सहसचिव टसबहादुर श्रेष्ठ, हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दङ्गाल लगायतले शुभकामना व्यक्त गरेका थिए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक रामचन्द्र घिमिरे र ऋण उपसमितिको प्रतिवेदन संयोजक विष्णुप्रसाद योङहाङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मणिराज दङ्गालले गरेको व्यवस्थापक डिल्लीराम न्यौपानेले जानकारी दिए ।































