संयुक्त राष्ट्रसंघको महासभाले आह्वान गरे अनुरुप सन् १९८२ देखि आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रुपमा मनाउने गरिएको छ । विश्वभर मनाइने यो दिवसको सार्थकता तब मात्र पुष्टि हुन्छ जब विश्वभर शान्ति कायम हुन्छ । शान्ति स्थापना नभएसम्म शक्ति राष्ट्रहरुको दम्भ र अहंकारले युद्ध, हिंसा जस्ता घटना भइरहन्छन् । भौतिक, प्राकृतिक र मानवीय क्षति भइरहन्छ । जसले एकातिर ठूलो धनराशि लगानी हुन्छ र त्यो पृथ्वीकै विनाशको कारण बन्छ । विश्वका सम्पूर्ण देश र देशबासीमा शान्तिको कामना गर्दै प्रत्येक वर्ष फरक–फरक नाराका साथ यो दिवस मनाउने गरिएको छ ।

कुनै पनि देशको समृद्धिको मूल आधार भनेकै शान्ति हो । शान्ति मानव जातिको अनमोल अधिकार पनि हो । हिंसा, युद्ध जस्ता अशान्ति कारक अवस्थाबाट मुक्ति पाउनु मानवीय अधिकार हो । संयुक्त राष्ट्रसंघ मानव जातिको त्यही अधिकार रक्षाका निम्ति क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो । नेपालले पनि संयुक्त राष्ट्रसंघको सदस्यता लिएको छ र विगतदेखि नै अन्तर्राष्ट्रिय मञ्चहरुमा शान्तिको पक्षमा वकालत गर्दै आएको छ । यद्यपि यही मानव सभ्यता मानव जातिको विनाश हुने गरी द्वन्द्व भएका छन् । भर्खरै युवा पुस्ताको सुशासनका पक्षमा सरकारले क्रुरतापूर्वक दमन गर्दा ठूलो मानवीय क्षति व्यहोर्नु परेको छ । दश वर्षे सशस्त्र द्वन्द्वमा हजारौंले जीवन गुमाएर राजनीतिक प्रणाली नै बदलेर पनि हामीकहाँ अझै शान्ति कायम हुन सकेको छैन ।
राष्ट्रसंघले चार दशकअघि घोषणा गरेको शान्ति दिवसको कामना आज पनि अपूर्ण नै छ । विश्वमा अझै धर्मका बीचमा, कतै राजनीतिका नाममा त कतै अहंकारले नरसंहार भइरहेको छ । विभिन्न नाममा विश्वयुद्धपछि पनि झन् ठूलो मानवीय क्षति भएको छ । एशियाका ज्योति भनिएका गौतम बुद्धको जन्मभूमि नेपालमा भइरहेको हिंसा हाम्रो दुर्भाग्य हो । विश्व शान्तिको कामना गर्ने नेपालको गौरव र गरिमालाई कलंकित गर्ने काम दलीय स्वार्थका नाममा वा व्यक्तिको आत्मतुष्टिको माध्यम नबनियोस् । केबल दीप जलाएर, भाषण गरेर वा जुलुस गरेर शान्ति स्थापना हुँदैन । त्यसका लागि नागरिकलाई शान्ति र समृद्धिको अनुभूति गराइनु पर्दछ । रोजगारी, सिप र सुशासनले द्वन्द्वलाई रोक्छ । जब मानव मन शान्त रहन्छ तब शान्तिको अनुभूति हुन्छ । सरकार जिम्मेवार बनोस् र आमनागरिकमा निश्चिन्तता जागोस्– शान्ति दिवसको शुभकामना ।




























