देशमा हालै भएको जेनजी पुस्ताको देशव्यापी आन्दोलनमा देखिएको सहभागीहरुको भीडझैं लागेको थियो महानवमी पर्वको दिन बुधबार साँझ अर्जुनधारा नगरपालिका–११ मिलडाँडास्थित कार्यक्रमस्थलको दृश्य।

पूर्व–पश्चिमलोक मार्गसँग जोडिएको काली झोडा–मिलडाँडा–सालबारी–खरबन्दी–शनिश्चरे सडक खण्डको पश्चिमतर्फको भागमा निर्माण गरिएको सुन्दर मञ्चमान कुनै जनप्रतिनिधि, न कुनै राजनीतिकदलका प्रतिनिधिहरु उपस्थित छन् । उपस्थित छन् त केवलआयोजक सालबारी मिलडाँडा युवा परिवारका पदाधिकारी तथा सदस्यहरु एवम् कार्यक्रममा मनोरञ्जन लिन पुगेका सहभागीहरु ।
घडीमा ठिक ८ बजेको समयपछि कार्यक्रमकी सञ्चालक अनुमा राईले कार्यक्रमको औपचारिक सञ्चालन गर्ने क्रममा परिवारका अध्यक्ष विजय राईलाई अध्यक्षता गराएपछि प्रमुख अतिथि र अतिथिहरुमा भने क्रमश ज्येष्ठ नागरिकहरु दिव्यराज नेपाल, पवित्रा राना मगर र हर्क राज गिरीलाई मञ्चमा आमन्त्रण गरेकी थिइन् ।
औपचारिक कार्यक्रमहरु निर्धारित समय भन्दा ढिलो गरि सुरु हुने र धेरै समय प्रमुखअतिथि, विशेष अतिथि, अतिथि लगायतको आसन ग्रहणमा खर्चने प्रणालीलाई आयोजकले यस पटक पूर्ण रुपमा हटाएको थियो ।

राजनीतिकदल र राजनीतिक व्यक्तित्वहरु प्रतिको आमनागरिकको निराशाले गर्दा पनि आयोजकले यस शैलीको कार्यक्रम सञ्चालन गरेको सहभागीहरुको धारणा रहेको थियो ।
माथि उल्लेखित दृश्य आयोजक सालबारी मिलडाँडा युवा परिवारले प्रत्येक वर्ष आफ्नो वार्षिक कार्यक्रमको रुपमा नियमित गर्दै आएको दुर्गा पूजा–२०८२को समापनको अवसरमाआयोजित सांगीतिक कार्यक्रमको हो ।
नेपालीहरुको साझा चाड दशैंको अवसरमा संस्कृतिको निरन्तरतासँगै स्थानीय स्तरमा रहेका कलाकारहरुको प्रतिभालाई प्रबद्र्धन एवम् उजागर गर्दै र गाँउघरमा दशैं आएको संकेत दिने उद्देश्यले संस्थाले यस कार्यक्रमको आयोजना गरेको संस्थापक अध्यक्ष किरण कुमार जबेगुले जानकारी दिए ।
कार्यक्रममा बिर्तामोडस्थित इस्तमाल ब्याण्ड, मेरो डान्स युनिभर्सकी फाइनलिस्ट सुशाना कोइराला, कलाकार फूर्लामु गुरुङ लगायत स्थानीय कलाकारहरुले गीत एवम् नृत्य प्रस्तुत गरेकाथिए । पूर्व अध्यक्षओम मगरले स्वागत गरेको उक्त कार्यक्रममा आयोजक संस्थाको पृष्ठभुमि, गतिविधि र भावी रणनीति बारे संस्थापक अध्यक्ष जबेगुले जानकारी गराएकाथिए ।
प्रस्तुति : अमित खम्बू /पूर्वाञ्चल दैनिक






























