झापा । असोज १८ गतेदेखि २० गतेसम्म कोशी प्रदेश लगायत देशका विभिन्न भागमा ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसंगै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आज एक् सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । जिल्लाका विभिन्न स्थानमा हुनसक्ने डुबान तथा बाढी पहिरोबाट जोगिन आवश्यक सजगता अपनाउनका झापावासीमा अनुरोध गरिएको छ ।
प्रजिअ अधिकारीले असोज १८,१९ र २० गते अत्यावश्यक अवस्थामा बाहेक यात्रामा ननिस्कनु हुन र अत्यन्त जरुरी काम परेर निस्कनै पर्ने अवस्थामा समेत मौसमको अवस्था बुझेर छोटो दुरीको यात्रामा मात्र निस्कनु अनुरोध गरेको गरेका छन् ।
त्यस्तै झापाबाट काठमाण्डौं जाँदा प्रयोग गरिने विपी राजमार्ग, कान्ति लोकमार्ग, हेटौडा–कुलेखानी– दक्षिणकाली सडक, विभुवन राजपथ तथा चितवन भएर जाँदा प्रयोग हुने चितवन–मुग्लिन– नौबिसे– काठमाण्डौँ सडक खण्डका बिभिन्न ठाउँमा पहिरो जानेक्रम चलिरहकाले उक्त सडकखण्डमा रात्रिकालिन यातायात सञ्चालन गर्नु जोखिमपूर्ण हुने तथा स्थानीय प्रशासनले ती ठाउँमा रातीमा गाडी चलाउन बन्देज समेत लगाएको हुँदा उक्त स्थान भएर जाने गरी रातिको यात्रा नगर्नु नगराउनु हुन अनुरोध गरेका छन् ।
मेची, बिरीड, कन्काई लगायतका नदी खोला किनारमा रहेका घरपरिवारका महानुभाबहरुले आफुले प्रयोग गरिरहेको औषधि, लगाउने लुगाकपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्री तत्काल बोकेर हिड्न मिल्ने गरी सुरक्षित पोको बनाई राख र बाढी, डुवानको अवस्था आइपरेमा त्यस्तो पोको झोला समेत लिई समयमै सम्बन्धित बडा कार्यालयले तोकेको सुरक्षित स्थानमा सर्नु अनुरोध गरेका छन् ।
प्रजिअ अधिकारीले स्थानीय तहहरुले बाढी, डुवानको जोखीममा रहेका आफ्नो क्षेत्रका मानिसहरुको उद्दारका लागि स्थानीय सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवक लगायतसँग आवश्यक समन्वय गरी तयारी अवस्थामा राख्न हुन तथा उद्दार पश्चात राख्न पहिचान गरिएका स्थान (विद्यालय, सामुदायिक भवन आदी) को सरसफाई गराईराख्न तथा ती भवनको तालाचावी बोक्ने व्यक्तिलाई सम्पर्कमा राखिराख्न अनुरोध गरेका हुन् । उद्योगी, व्यापारी, व्यवसायी एवं विपदमा सहयोग गरी मानवसेवा गर्न इच्छुक संघ–संस्था, महानुभावहरुले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यलयसँग सम्पर्क समन्वय गर्न आग्रह गरेका छन् ।
उनले गलत सूचनाले आममानिसमा अनावश्यक त्रास फैल्याउने, क्षति धेरै हुने आदी भएकाले सामाजिक सञ्जालमा विपद्सम्बन्धी सामग्री सम्प्रेषण गर्नु हुनेले तथ्यमा आधारित सामग्रीमात्र सम्प्रेषण गर्न हुन र सबै मिलेर सम्भावित विपदको सामना गर्न तथा जनधनको क्षति हुन नदिन सचेत नागरिक सबैले हातेमालो गरौं भनेका छन् ।































