
विदेशमा रहेर पनि मातृभूमिप्रतिको प्रेम र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै झापाली समाज साउदी अरब ले झापा जिल्लाको शिवसतासी नगरपालिका–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक थान एलईडी (LED) उपकरण हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित एक विशेष समारोहका बीच समाजका तर्फबाट हस्तान्तरण गरिएको उक्त उपकरण विद्यालयका प्रधानाध्यापक श्री नारायण प्रसाद चापागाईंले ग्रहण गर्नुभयो।
कार्यक्रममा शिवसतासी नगरपालिका–४ का वडा अध्यक्ष श्री बिष्णु प्रसाद प्रसाई विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममा झापाली समाज साउदी अरबका अध्यक्ष श्री रबिन गिरी ले सम्बोधन गर्दै समाजले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको दायित्व सम्झँदै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।
समाजका तर्फबाट पूर्व अध्यक्ष श्री राजेन्द्र थापा, सह–सचिव श्री देवी बहादुर कार्की, सदस्य श्री राजिव श्रेष्ठ, र सदस्या श्रीमती कृष्ण माया हुमागाई समेतको सक्रिय उपस्थिति रहेको थियो।
प्रधानाध्यापक श्री नारायण प्रसाद चापागाईंले विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गर्दै उक्त सहयोगले विद्यालयमा आधुनिक प्रविधिमार्फत सिकाइ वातावरण सुधार गर्न र विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउन मद्दत पुग्ने बताउनुभयो।
एलईडी उपकरणको प्रयोगले विद्यालयमा सूचना प्रवाह, दृश्य शिक्षण (Visual Learning), र कार्यक्रमहरू सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक–विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।































