शान्ति सामुदायिक वनको २७ औं सभामा विविध कार्यक्रम

0
58
अर्जुनधारा। 
झापाको अर्जुनधारा नगरपालिका–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको २७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
समूहको प्राङ्गणमा अध्यक्ष खगेन्द्र कोइरालाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष कोइराला, आन्तरिक लेखा समितिको प्रतिवेदन संयोजक गोपालकृष्ण लामिछाने र चालु आर्थिक वर्ष २०८२/०८३को वार्षिक कार्यक्रम कोषाध्यक्ष वीना रोक्काले प्रस्तुत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्ष २०८१÷०८२मा शिकारी खोल्सीमा रिचार्ज पोखरी निर्माण, बाटो मर्मत, कुलो तथा विद्युत विस्तारमा सहयोग, विभिन्न स्थानहरुमा हेमपाइप लगाउने, उपभोक्ताहरुलाई निःशुल्क २३० थान सिलिण्डर ग्यास वितरण, समूहको ब्लक नं. १मा वृक्षारोपण, गोडमेल तथा सरसफाई, विपन्न उपभोक्ताहरुलाई निःशुल्क ढोका वितरणलगायतको कार्यहरु सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको लागि अनुमानित ७५ लाख ६३ हजार चार सय ५९ रुपैयाँ बराबरको वार्षिक कार्यक्रम रहेको उल्लेख गरिएको छ । जसअनुसार गरिबी न्यूनिकरणतर्फ १७ लाख ७५ हजार चार सय तीन रुपैयाँ, प्रशासनिक खर्चतर्फ १७ लाख ६१ हजार दुई सय १९ रुपैयाँ, वन विकासतर्फ १६ लाख ९० हजार आठ सय ६० रुपैयाँ, काठ तथा दाउरा संकलन खर्चतर्फ आठ लाख रुपैयाँ, दायित्व भुक्तानीतर्फ आठ लाख रुपैयाँ, सामुदायिक विकासतर्फ चार लाख ८५ हजार नौ सय ७७ रुपैयाँ, विविधतर्फ एक लाख ५० हजार रुपैयाँ र नगर करतर्फ एक लाख रुपैयाँ विनियोजन गरेको छ ।
सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई नगद पुरस्कार र सम्मान पत्रसहित पुरस्कृत एवम् सम्मानित गरिएको थियो । यसरी पुरस्कृत एवम् सम्मानित हुनेहरुमा गत शैक्षिक वर्ष २०८१को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल स्थानीय नवज्योति आधारभूत विद्यालयका छात्र रोजल खड्का, सरस्वती आधारभूत विद्यालयकी छात्रा युनिशा कुमाल, खेलकुदतर्फ तेक्वान्दो खेलाडीद्वय प्रदीप गजमेर र सविक श्रेष्ठ, नृत्यतर्फ आकृती तामाङ र रोशाहाङमा आङदेम्बे रहेका छन् ।
त्यस्तै कार्यक्रममा १२ जना ज्येष्ठ उपभोक्तालाई नगद पुरस्कारसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ झापाका सदस्य तुलसी खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी वडाका सचिव बालकृष्ण कुँइकेल, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष विष्णुलाल ढकाललगायतले बोलेका थिए । समूहकी उपाध्यक्ष लक्ष्मी आङदेम्बेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नरेन्द्रप्रसाद गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here