व्यावसायिक कागती खेतीमा लागेका किसानहरू उचित बजार र मूल्य नपाउँदा मारमा

0
68

छविराज ढकाल,
पथरी शनिश्चरे ।

१५ लाख रुपैयाँको लगानीमा सात सय कागतीका बिरूवा रोपेर व्यवसायिक रूपमा खेती गरेका पथरी शनिश्चरे–२ कालापानीका कृषक सुरेन्द्र दाहालले यो वर्ष भने बजारमा उचित मूल्य नपाएको र बिक्री नभएको बताउनुभएको छ।

विगत सात वर्षदेखि कालापानीमा दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनुभएको छ। स्थानीय प्रेम पोख्रेलको लहलह धान फल्ने खेतमा उहाँले १५ वर्षका लागि २८ कठ्ठा जमिन वार्षिक ८० हजार ठेक्का तिर्ने शर्तमा कागती खेती गर्दै आउनुभएको हो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष उचित मुनाफा प्राप्त हुन नसकेको बताउँदै उहाँले स्थानिय बजारमा भारतीय कागतीको अतिक्रमण र किसानहरूले उत्पादन गरेका फलफुल लगायतका सामानलाइ चिस्यान केन्द्रमा राख्न नसक्दा १५ टन कुहिएर नष्ट भएको बताउनुभयो। उहाँले गत वर्ष १५ लाख आम्दानी गर्न सकेकोमा यस वर्ष आफूले उत्पादन गरेका कागतीका दाना र अमिलो चुक बिक्री नहुँदा नोक्सानी बेहोर्नु परेको बताउनुभयो। गतका वर्ष साउन–भदौमा राम्रोसँग स्थानीय बजारमा बिक्री भएपनि यस वर्ष भारतीय कागतीको प्रभावले बिक्री नभएको उहाँको भनाई छ ।

उहाँ जस्तै सोही वडाका अर्का कृषक रुद्रमणि न्यौपानेले ६ वर्ष अगाडि देखि पथरी कृषि फर्मको नामबाट एनआईसी एशिया बैंक पथरी शाखाबाट ५५ लाख रुपैयाँ ऋण लिएर धनकुटे कागती, मद्रासी हाइब्रिड, बारामासे सुन कागती , चाइनिज सेडलेज लगायत प्रजातिका करिब ९ सय कागती व्यवसायिक खेती गर्दै आईरहनु भएको छ ।

प्रति कठ्ठा दुई हजारका दरले कुल ३० कट्ठा जमिनमा व्यवसाय खेती गर्दै आए पनि लिएको ऋणको ब्याज तिर्न हम्मेहम्मे परिरहेको बताउनुभयो। आफूले कागतीका कलमी बिरुवाहरु वार्षिक दुई लाख ५० हजार रूपैयाँ र कागतीका दान तीन लाख रुपैयाँ बजारमा बिक्री गरी आम्दानी गरेको उल्लेख गर्नुभयो।

उहाँले नेपाली कागती भन्दा भारतीय कागतीले बजार अतिक्रमण गरेपछि यो वर्ष बजार मूल्य चाहिँ कम भएको दाबी गर्नुभयो। स्थानीय तह र सरकारी अनुदान वा सहयोग आफूलाई प्राप्त नभएको बताउनुहुँदै पछिल्लो समय कागतीको बिरुवाहरूमा किरा लागेर मर्न थालेको र कृषि प्राविधिकको सेवा पनि आफूले प्राप्त गर्न नसकेको बताउनुभयो।

यता, पथरी शनिश्चरे नगरपालिकाका कृषि प्राविधिक प्रवेश ढकालले नगरपालिकाको आर्थिक वर्ष २०८२–०८३ का लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। नगरपालिकाभित्र उत्पादन गरेका कृषिजन्य उत्पादनहरूलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ। बाली रोग सम्बन्धी सचेतना कार्यक्रम, किसानहरूलाई बिउविजन वितरण गर्ने, मेड ईन पथरी, जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो।

गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनका कारण यस्ता कार्यक्रमहरू कटौती हुने सक्ने सम्भावना पनि रहेको संकेत गर्दै किसानहरूले उत्पादित कृषिजन्य उत्पादन जस्तै कागती, सुन्तला, आलुहरूलाई चिस्यान केन्द्रमा व्यवस्थापन गर्नको लागि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख , उपप्रमुख सहित जनप्रतिनिधिहरूको बैठकहरूमा छलफल हुँदै आइरहेको छ।

नेपाल कृषिप्रधान देश भनिए पनि स्थानीय उत्पादनले उचित बजार नपाउँनु ,सिँचाइ सुविधा प्राप्त नहुनु, स्थानीय, प्रदेश, संघीय तहका सरकारबाट कुनै किसिमको अनुदान वा सहयोग नहुनु, किसानका उत्पादनहरूलाई चिस्यान केन्द्रमा व्यवस्थापन गर्न नसक्नु र भारतीय बजारले नेपाली बजारमा अतिक्रमण गर्नाले स्थानीय किसानहरू आफ्नो पेशाबाटै पलायन हुने अवस्था छ।

नेपाली कृषि क्षेत्र र किसानहरूको उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्न स्थानीय ,प्रदेश र संघीय सरकारले उचित कदम चाल्नुपर्ने किसानहरुको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here