भारतबाट भित्र्याइएको माछा प्रहरीले छाडेपछि झापा गाउँपालिकामा विवाद

0
164

झापा । दक्षिणी झापाको कुमरखोद नाका हुँदै प्रहरीको संरक्षणमा खुलेआम तस्करी हुने गरेको पाइएको छ ।
भारतबाट आयातित माछा बोकेको प्र.१–०१–००२ च ०६५२ नं को महेन्द्रा कम्पनीको पिकअप भेनलाई स्थानीयले नियन्त्रणमा लिँएसंगै यो नाका हुँदै माछा समेत तस्करी हुने गरेको सार्वजनिक भएको हो । माछा बोकेको पिकअप स्थानीयले नियन्त्रणमा लिएपनि इलाका प्रहरी कार्यालय कुमरखोदका घुमुवा प्रहरी सहायक हवल्दार विकास घिमिरेले माछा बोकेको सो गाडी भगाएपछि विवाद उत्पन्न भएको थियो ।

माछा बोकेको गाडी प्रहरीले नै भगाएपछि विवाद उत्पन्न भएसंगै माछा खाली गरेर सो पिकअप राति नै पुनः इलाका प्रहरी कार्यालयमा ल्याइएको थियो । प्रहरी आफैंले भगाएको गाडी पुनः राति इलाका प्रहरी कार्यालयको नियन्त्रणमा आउनुले प्रहरीसंगको मिलेमतोमा दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा खुलेआम तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
माछा तस्करीमा सम्लग्नले आइतवार प्रहरीकै संरक्षणमा माछा भारतबाट नेपाल भित्र्याएका थिए । झापा गाउँपालिका वडा नं २ नरिवलटोलाका युवाहरुले तस्करीको गाडीलाई रोकेपछि तस्करलाई जोगाउँदै प्रहरीले नै विवाद गरेको थियो ।
छठ पर्वको अवसरमा हुलाकी सडकअन्तर्गत पर्ने सानोमाई खोलाको किनारमा धार्मिक मेला लगाएका झापाली युवा क्लवका युवाहरुले पिकअप भेनलाई रोकेका थिए ।

नेपालमा विक्री गर्न प्रतिवन्धित माछाको काटुन लोड गरिएको गाडी रोकेर उनीहरुले चावी खोसेका थिए ।
माछाको काटुनले भरिभराउ गाडीलाई चेक गर्न खोज्दा इलाका प्रहरी कार्यालय कुमरखोदका घुमुवा प्रहरी सहायक हवल्दार विकास घिमिरेले चेकजाँच गर्न नदिइ उल्टै कानुन हातमा नलिन भन्दै धम्क्याएको स्थानीय रवि मुखियाले वताए ।
स्थानीय प्रत्यक्षदर्शी सहदेवकुमार मण्डलका अनुसार उक्त माछा सुरक्षाको लागि सशस्त्र वेश क्याम्प लाने भन्दै सहायक हवल्दार घिमिरेले गाडीको चावी चालकलाई दिएर पठाएका थिए । तर, सो गाडी सशस्त्र वेश क्याम्प नलगी भगाइएको हो ।
उक्त गाडी वेश क्याम्पमा नपठाएर प्रहरीले नै तस्करलाई सहयोग गरेर भगाएको अर्का प्रत्यक्षदर्शी राजु महतोले बताए । प्रहरी सहायक हवल्दार घिमिरेले भने आफूले झगडा छुट्याउँदै गर्दा सो गाडी कता भागेको थाहा नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

यसैगरी टाँघनडुब्बाका सशस्त्र प्रहरीका विओपी प्रमुख प्रेम  गुरुङले आफू केही दिनअगाडी मात्रै सरुवा भएर आएकोले यहाँको वारेमा केही पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् । खुल्ला सिमानाका कारण झापा गाउँपालिकामा तस्करले दिनदहाडै तस्करी गर्दै आएका छन् । गाईगोरु , वाख्रा , माछा , हार्डवेयरका सामान, किरानाका सामानहरु खुलेआम तस्करी हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here