नेपाल र भारतबीच सन् १९५० मा भएको सन्धिका कारण नेपालले आजपर्यन्त अपेक्षित विकास गर्न सकेको छैन । दुई देशबीचको खुल्ला सीमानाका कारण सीमावर्ती क्षेत्रमा अपराधका घटना भइरहेका छन् भने खुलेआम भइरहेको तस्करी धन्दाले भन्सार राजश्व पनि घटिरहेको छ । नेपाल र नेपालीको सर्वाङ्गिण विकासको प्रमुख अवरोध नै खुल्ला सीमाना हो जसले खासगरी सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले अनेक सास्ती व्यहोर्नु परिरहेको छ । तराईका सीमावर्ती क्षेत्रका जनताले अतिक्रमणदेखि प्रताडित हुनु पर्नेसम्मका अवस्थाको मुख्य कारण भनेकै खुल्ला सीमाना हो, जसका कारण नेपालीले स्वाभिमानी भएर बाँच्न पाएका पनि छैनन् ।

त्यसो त देश र जनताको अभिभावक भनिने सरकार र राजनीतिक दलका नेतृत्व र नेताहरुले देश र जनताको अस्तित्वको रक्षा गर्नुपर्छ । तर, हाम्रा नेतृत्व गणको लाछी र लाचारीपनका कारण नेपालीले आजपर्यन्त स्वाभिमान हुन पाएका छैनन् । नेपालीलाई बलपूर्वक गराइएको सन् १९५० को सन्धिको बलमा दुई देशबीच समान र मैत्री सम्बन्ध नहुन खुल्ला सीमाना बाधक रहेको छ । जसका कारण नेपालले आर्थिक समृद्धिको यात्रा तय गर्न सकेको छैन । नेपालले पनि कुटनीतिक क्षमता बढाएर अतिक्रमित भूमि फिर्ता गराउन र सबै असमान सन्धि खारेज गर्नुपर्छ ।
नेपाल–भारतको खुल्ला सीमानाकै कारण भारतबाट विभिन्न नाका हुँदै दिनहुँ तस्करी भइरहेको छ । पूर्वीनाका झापाका विभिन्न सीमा क्षेत्रबाट खाद्यवस्तु, लत्ताकपडा, लागूपदार्थदेखि गाईवस्तुको तस्करी भइरहँदा पनि नियन्त्रण हुन सकेको छैन । झापाका कतिपय भन्सार कार्यालय बर्षौंदेखि बन्द छन् । मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत गाडागल्ली बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा, महाभारा र गौरीगञ्ज भन्सार कार्यालय छन् भने भद्रपुर अन्तर्गत पाठामारी, केचना, घेराबारी, पन्थापाडा र कुमरखोद छोटी भन्सार छन् । तर कुमरखोदको भन्सार कार्यालय विस्थापित भएको छ, जसका कारण त्यस क्षेत्रबाट तस्करी बढेको छ ।
कुमरखोद छोटी भन्सार बन्द हुँदा तस्करहरुका लागि सो क्षेत्रबाट लागूपदार्थदेखि माछा, हार्डवेयरका सामान, किरानाका सामान, गाईगोरु समेतको निकासी–पैठारीमा सहज भएको छ । अझ जेन–जी आन्दोलनपछि त प्रहरीको अनुपस्थितिले तस्करीलाई मलजल पुगेको छ । पछिल्लो घटना अनुसार सो नाका हुँदै भित्र्याइएको ठूलो परिमाणको माछा नेपाल भित्रिएको छ । स्थानीय युवाले नियन्त्रणमा लिएको माछासहितको गाडी प्रहरीले नै भगाएको आरोप लागेको छ । भारतबाट ल्याइने त्यस्ता वस्तु र यताबाट लगिने गाईगोरुको तस्करीमा प्रहरीको मिलेमतो रहेको आरोप लागे पनि कारवाही नहुनुले तस्करको मनोबल बढेको छ । यस्तोमा भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सक्दैन, जुन आर्थिक समृद्धिको बाधक हो, तसर्थ सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।




























