निर्माणको ठेक्का लागेका तर वर्षौं बितिसक्दा काम पूरा नगर्ने ठेकेदार र कम्पनीलाई सरकारले कडाइ गर्न थालेको छ । आयोजनाहरु निर्धारित समयमा सम्पन्न नहुने नेपालको पुरानो रोग हो । जसका कारण आयोजनाले दिने प्रतिफल समयमा पाइँदैन र आयोजनाको लागत पनि बढ्दै जान्छ । यस्तो दोहोरो नोक्सानी व्यहोर्नुपर्ने नियति जस्तै भएको अवस्थामा ठेकेदार मोटाउने र लक्षित वर्ग र देशले क्षति भोग्दै आएको छ । यही अवस्थाका बीच केही घण्टाको विद्रोहले गठन भएको सरकारको सक्रियताका कारण समयमा काम सम्पन्न नगर्ने ठेकेदार तथा कम्पनीलाई कारवाही गर्ने प्रक्रिया शुरु गरेपछि सम्बन्धित सडक डिभिजन कार्यालयहरुले स्पष्टीकरण सोधेर कारवाही गर्न थालेको छ ।

सडक डिभिजन कार्यालय इलामले मेची करिडोर इलाम, पाँचथर र ताप्लेजुङमा भरपर्दो सडक सञ्जाल नभएर स्थानीय समस्यामा परेपछि स्पष्टीकरण सोधेको छ । गत असोज १८ गते रातिको वर्षासँगै आएको बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा तीनवटा जिल्लामा झण्डै दुई हप्तासम्म सास्ती भोग्नु प¥यो । मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको सडकमा गएको पहिरोले यातायात अवरुद्ध हुँदा लामो समय दुःख खेप्नु प¥यो । यो सडकखण्डको विकल्पका रुपमा निर्माण गर्न थालिएको केचना–कञ्चनजंघा सडक पनि समयमा काम नहुँदा पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र हिमाली जिल्ला ताप्लेजुङको आशा पनि कमजोर बनेको छ ।
ठेकेदार कम्पनीले सडक, पुल, कल्भर्ट, सिञ्चाइ लगायतका ठेक्काको सम्झौता गर्नतिर निर्धारित समयमा काम सम्पन्न नगर्ने रोग पुरानो भइसकेको छ । समयमा काम नगर्दा लागत बढ्ने र भ्रष्टाचार मौलाउने प्रवृत्तिलाई रोक्न वर्तमान सरकार निर्मम बन्दै गएको छ । नव–पुस्ताको विद्रोह पनि देशमा बढेको भ्रष्टाचार र कुशासनको परिणति हो, तसर्थ अन्तरिम सरकारलाई परम्परालाई पछ्याउने छुट छैन । त्यसमा पनि उज्यालोका नायक भनिएका कुलमान घिसिङले आफ्ना मातहतका कार्यालयहरुलाई निर्माण स्थलको निरिक्षणपछि यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन नै दिएका छन् ।
ठेक्कालाई रुग्ण बनाउने कार्यमा जिम्मेवार रहेका जो कोहीलाई कारवाहीको दायरामा ल्याएर ठेकेदारसँगको सम्झौता तोडेर समयमा काम नगर्नेलाई दण्डित गरेर पनि सुशासनको अनुभूति गराउन सरकारको दायित्व हो । हाल रुग्ण अवस्थामा रहेका सबै ठेक्कामा को–कसको कति भूमिका र जिम्मेवारी छ, छानविन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ । यसले मात्र अन्तरिम सरकारको औचित्य सिद्ध गर्नसक्छ र सामथ्र्यको पनि पहिचान हुन्छ ।




























