हिंसा पीडितका लागि सहारा बन्दै एकद्वार संकट व्यवस्थापन केन्द्र

0
48

झापा,  लैङ्गिक हिंसाबाट पीडित महिलाहरू र बालबालिकाका लागि झापाको भद्रपुरमा सञ्चालनमा आएको एकद्वार संकट व्यवस्थापन केन्द्र (OSC) प्रभावकारी रूपमा सेवा दिइरहेको छ।

यस केन्द्रको स्थापना सबै प्रकारका हिंसा पीडितहरूलाई एउटै स्थानबाट उद्धार, उपचार, सुरक्षा, न्याय, पुनर्वास र परामर्श सेवा निःशुल्क उपलब्ध गराउने उद्देश्यले गरिएको हो। यो सेवा हाल प्रादेशिक अस्पताल भद्रपुरमा सञ्चालनमा छ।

केन्द्रकी फोकल पर्सन निलुशा शाक्यका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल १४७ जना हिंसापीडितले सेवा लिएका छन्। तीमध्ये १०४ जना जबरजस्ती करणी (बलात्कार) सम्बन्धी हिंसाका पीडित महिला रहेका छन्। ती घटनाका पीडकहरू प्रायः १९ देखि ४९ वर्ष उमेर समूहका रहेको बताइएको छ।

शाक्यका अनुसार,

“लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, यौन शोषण, मानव बेचबिखन र जबर्जस्ती विवाहजस्ता घटनाका पीडितले एकै ठाउँबाट सबै प्रकारका सेवा पाउन सकून् भनेर सरकारले यो केन्द्र सञ्चालनमा ल्याएको हो। पीडितले अब विभिन्न निकाय धाउनुपर्दैन।”

यो केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा सञ्चालनमा रहेको छ। झापाका दुई अस्पतालसहित कोशी प्रदेशका १८ वटा अस्पतालमा यस्ता केन्द्रहरू कार्यरत छन्।

प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनोजकुमार साहका अनुसार केन्द्रमार्फत स्वास्थ्य तथा चिकित्सकीय उपचार, कानूनी सहायता, मनोसामाजिक परामर्श, सुरक्षित आवास र पुनर्स्थापना सेवा उपलब्ध गराइँदै आएको छ।

केन्द्रको संरचनामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने व्यवस्था गरिएको छ भने अन्य सरोकारवाला सरकारी निकायका प्रतिनिधि, महिला तथा बालबालिकासँग सम्बन्धित सामाजिक संस्थाका सदस्यहरू सहभागी हुन्छन्। साथै, जिल्ला समन्वय समितिका प्रमुख अध्यक्षस्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरू सदस्य रहने गरी सल्लाहकार समिति गठन गरिएको छ।

गत आर्थिक वर्षमा केन्द्रले रु. ११ लाख ४४ हजार १४२ खर्च गरेको र चालु आर्थिक वर्ष २०८२/०८३ का लागि रु. १५ लाख ९५ हजार ३०० बजेट पारित गरिएको जानकारी फोकल पर्सन शाक्यले दिनुभयो।

भद्रपुरस्थित प्रादेशिक अस्पतालमा यो केन्द्र स्थापना भई सात वर्षदेखि निरन्तर सञ्चालनमा छ। यसले झापामा लैङ्गिक हिंसाका पीडितहरूका लागि राहत र न्याय प्राप्तिको प्रभावकारी माध्यमको रूपमा काम गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here