नियमित मनसुन बाहिरिएपछि गत असोज १८ र १९ गते भएको अविरल वर्षाले पूर्वी पहाडी जिल्ला इलाममा ठूलो क्षति भएको छ । प्राकृतिक सौन्दर्य मात्र होइन कृषि वस्तुको उत्पादनका हिसाबले पनि अग्रणी रहेको इलाममा पछिल्लो बेमौसमी वर्षाले झण्डै बाह्र अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । वर्षापछिको पहिरोबाट समेत त्यहाँका विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाई, कृषि एवम् पशुपंक्षीजन्य क्षेत्रमा गरी एघार अर्ब एकासी करोड उनासी लाख पचासी हजार सात सय तीन रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालय इलामले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ कार्यालयसहितका कार्यालय मार्फत संकलित क्षतिको विवरण प्रजिअ नेपालले सार्वजनिक गरेकी हुन् । यद्यपि क्षतिको यो विवरण पूर्ण होइन, तर जिल्ला प्रशासन कार्यालय प्रारम्भिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृहमन्त्रालयमा पठाएर सम्बन्धित निकायलाई राहत प्रदान गर्ने आधार तयार गर्छ । हुन त हरेक वर्षजसो मनसुन महाकालका रुपमा आइरहेको छ, जसका कारण पहाडमा पहिरो, तराईमा बाढी, कटान र डुबानको समस्याले सयौंको ज्यान जाने गरेको छ भने अर्बौंको धनमाल क्षति भइरहेको छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भागमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । अनुमान जस्तै कोशी, मधेश र बाग्मती प्रदेशमा जनधनको ठूलो क्षति हुन पुग्यो ।
यस्ता प्राकृतिक विपद्का समय उद्दार तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न जिल्ला–जिल्लामा समेत समिति बनाइएको छ । तिनले केन्द्रको कार्यकारी समितिसँग समन्वय गर्दै पूर्व तयारी र सतर्कता अपनाउने गर्छ । तर यो पटक पूर्वानुमान र सतर्कताका बीच मध्यरातिको वर्षाले धेरैको ज्यान गयो । अर्बौंको भौतिक क्षति भयो । त्यसो त बाढी–पहिरोको यो अवस्था वातावरणीय प्रदूषण, जलवायु परिवर्तन, भौगोलिक अवस्था, मौसमी विचलन र मानवका क्रियाकलापहरुका कारण उत्पन्न हुन्छ । जथाभावी डोजर चलाएर सडक खन्ने होडले भूक्षय हुन गई पहिरोको जोखिम बढेको छ । अवैज्ञानिक ढंगले खनिएका ग्रामीण सडकमा पानीको व्यवस्थित निकास छैन र तराईमा समेत प्रकृतिको दोहन र अतिक्रमण भइरहेको छ । त्यसैले यस्तोमा मानवजन्य र प्रकृति प्रतिकूलका गतिविधि मानिस आफैंले रोक्नुपर्छ । अवैज्ञानिक बस्ती, शहरीकरण तथा भौतिक विकासलाई निरुत्साहित गर्नुपर्छ । अनि मात्र प्रकृतिको रक्षा हुन्छ, वातावरण प्रदूषित हुँदैन । र यस्ता विपद्बाट जोगिन सकिन्छ ।




























