झिलझिले।

झापाको शिवसताक्षी नगरपालिका–१ का एक युवकको इन्टरनेट विस्तारका लागि केबल जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुभाष केसीका अनुसार मृत्यु हुनेमा स्थानीय २१ वर्षीय आशिष खनाल रहेका छन्।
खनाल फर्स्ट लिङ्क इन्टरनेट नामक निजी इन्टरनेट सेवा प्रदायक कम्पनीमा कार्यरत थिए। गएको कार्तिक ११ गते इन्टरनेटको केबल पोलमा टाँग्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लाग्दा गम्भीर घाइते भएका उनीलाई तत्कालै दमकस्थित आम्दा अस्पतालमा उपचारका लागि लगिएको थियो।
आम्दा अस्पतालले थप उपचारका लागि बिराटनगरको नोबेल मेडिकल कलेजमा रेफर गरेको थियो। नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएको भन्दै उपचार सम्भव नहुने जानकारी परिवारलाई दिएका थिए।
त्यसपछि घर फर्काउने क्रममा बुधबार बाटैमा उनको निधन भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले मुचुल्का संकलन गरी शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। मृतक खनाल शिवसताक्षीका चर्चित पण्डित आचार्य गोकुल खनालका कान्छा छोरा हुन्।
स्थानीयवासीका अनुसार आशिष इमानदार र परिश्रमी स्वभावका थिए। उनको असामयिक निधनले गाउँभर शोक छाएको छ। परिवार, सहकर्मी र समुदायका सदस्यहरूले उनको आत्माको चीरशान्तिको कामना गर्दै दुःख प्रकट गरेका छन्।
यस घटनाले सुरक्षाका मापदण्ड बिना जोखिमपूर्ण कार्यमा संलग्न हुने मजदुरहरूको अवस्थाबारे पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता स्थानीय बासीले औंल्याएका छन्।





























